काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १ र ३ को सिमानामा पर्ने श्री देवी पाञ्चायन मन्दिर भत्काउन यहि जेठ १८ गते बुधवार अदालती विषय समेत ख्याल नगरी दलबल सहितको टोली वडा नं १ का वडाअध्यक्ष र मन्दिरको जग्गा खाने दाऊमा रहेका व्यक्तिको अगुवाइमा गएको खुलेको छ ।
एक त अदालतमा विचाराधिन रहेको मुद्दा परेको विषय त्यसमाथि समुदायले कुनै पनि हालतमा मन्दिर हटाउन हुन्न बरु नगरपालिकाले स्वामित्व ग्रहण गर्नुपर्छ भनी पटक पटक आवाज उठाउदै आएको मन्दिर भत्काउन नगरपालिकाले किन बल प्रयोग गर्यो भन्ने बारेमा जानकारी माग्न स्थानीयले सोमवार नगरप्रमुख मिठाराम अधिकारीलाई भेटेका थिए । घटनाको सबै बेलिविस्तार सुनेपछि नगर प्रमुख अधिकारीले आफूलाई उक्त घटनाबारे जानकारी नभएको र किन के भएको हो बुझ्ने बताए ।


यो पनि पढ्नुहोस्ः बूढानीलकण्ठ नगरपालिकाको पहिलो काम मन्दिर भत्काउने
नगर प्रहरी, नेपाल प्रहरी, नगरपालिकाका कर्मचारी, युवा संघका कार्यकर्ता सहित डोजर र दुईवटा ट्रक समेत लिएर वडा अध्यक्ष सुरेन्द्र लामा मन्दिर क्षेत्रमा पुगेका थिए । स्थानीयलाई कुनै पत्ता नदिइ मध्यान्न पारेर आएको टोलीसंगको निकै लामो बहस र प्रतिकार पछि स्थानीयले अदालतको अवहेलना हुने गरी मन्दिर भत्काए मुद्दा हाल्ने चेतावनी दिएपछि टोली हच्किएर फर्किएको थियो ।
तर उक्त घटनाको बारेमा भने नगरप्रमुख अधिकारी पूर्णतः अनभिज्ञ रहेछन् । “मलाई यस विषयमा थाहा भएन । म न्यायिक समिति र हाकिम’साब (प्रमुख कार्यकारी अधिकृत)संग कुरा बुझेर चार पाँच दिन भित्रमा फेरि तपाईहरुसंग छलफलमा बस्छु, “ नगर प्रमुख अधिकारीले आश्वस्त पार्नुभयो ।
मन्दिर भत्काउन भएको पछिल्लो प्रपञ्चबारे स्थानीयले स्थानीय भद्रभलाद्मी र सामाजिक अगुवाहरुलाई पनि जानकारी गराएका थिए । उक्त टोलीले शनिवार मन्दिर क्षेत्रको अवलोकन गरेर वस्तुस्थितिबारे जानकारी लिएको थियो ।
यो पनि पढ्नुहोस्ः बूढानीलकण्ठ नपा १ मा सार्वजनिक जग्गा विवादः नगर र वडाको ज्यादती विरुद्ध ऐक्यवद्धता
सार्वजनिक जमिन र मन्दिरको संरक्षण हुनुपर्छ भन्ने स्थानीयको अभियानमा नेपाली कांग्रेसले पनि आफ्नो साथ रहने प्रतिवद्धता जनाएको छ । सोमबार नगर प्रमुखसंगको छलफलमा पनि कांग्रेस बूढानीलकण्ठ नगरपालिकाका विभिन्न तहका नेताहरुले सार्वजनिक जमिन जोगाउने स्थानीयको अभियानमा परी आए भिड्न पनि कांग्रेस तयार रहेको स्पष्ट पारेका छन् । बूढानीलकण्ठ वडा नं १ को मन्दिरको प्रसंग संगै त्यसबखत अन्य वडाहरुमा समेत वडा अध्यक्षहरुकै मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिगत बनाइएको बारेमा तथ्यहरु प्रस्तुत गरिएका थिए । साथै वडा नं २ मा हालै बनाइसकिएको कालोपत्र सडकमा बीचमा पानी जम्यो भनेर नयाँ सडक टालटुल गरेको विषयमा पनि प्रमुख अधिकारीको ध्यानाकर्षण गराइएको थियो ।

मन्दिरको विषयमा नगरपालिकामा भएको छलफल । फोटोः श्री देवी पाञ्चायनको फेसबुक वाल
छलफलमा मन्दिरको संरक्षण गरी नगरपालिकाले स्वामित्व लिने र स्थानीयको स्वतन्त्र साझा उपयोगमा प्रयोग हुनेगरी नगरपालिकाले सहजिकरण गर्ने खाका प्रस्तुत भएको छ ।
झण्डै चार वर्ष अघि त्यहाँ जग्गा खरीद गरेका दुर्गा फुयाँल र उनकी श्रीमती शर्मिला फुयालले सार्वजनिक जमिन हडप्ने नियत राखी पर्खाल र पुल बनाएपछि त्यहाँ विवाद शुरु भएको थियो । मन्दिरको जग्गा आफू अनुकुल बनाउन उनीहरुले हदैसम्मको प्रपञ्च गरिरहेको स्थानीयको भनाइ छ । वडा हुदै नगरसम्म स्थानीयले धेरै प्रयास गरेपछि जग्गा संरक्षण गर्न नसक्ने अवस्था आएपछि तीन बर्ष अघि मन्दिर स्थापना गरेका थिए । त्यहि मन्दिर भत्काउन नगरले निर्णय गरेपछि स्थानीय अदालतको ढोका ढकढकाउन बाध्य भएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




