२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

बूढानीलकण्ठ नगरपालिकाको पहिलो काम मन्दिर भत्काउने

काठमाडौं । स्थानीय तहको हालै सम्पन्न निर्वाचनबाट विजयी भएर आएको बूढानीलकण्ठ नगरपालिकाको नेतृत्वले अदालतमा मुद्दा विचाराधिन रहेको मन्दिर भत्काएर आफ्नो नगरमा कार्य प्रारम्भ गरेको छ । नगरपालिकाको वडा नं १ र ३ को सिमानामा स्थानीयले बनाएको श्री देवी पाञ्चायन गुह्येश्वरीको मन्दिर भत्काउन बुधवार दिउँसो नगरपालिको ठूलो टोली डोजर सहित उक्त क्षेत्रमा पुगेको थियो ।

झण्डै एक दर्जन नगर प्रहरी, नगरका कर्मचारी, वडाका प्रतिनिधि, आफूलाई युवा संघकी नेतृ बताउने एक महिला सहित ठूलो संख्यामा प्रहरी समेत लिएर मन्दिर हटाउन गएको नगरको टोली स्थानीयले अदालतको पत्र देखाएर जवाफ मागेपछि नाजवाफ भएर फर्किएका थिए ।

फोटोः विवादित जग्गाको नक्सा

स्थानीयले बताए अनुसार उक्त मन्दिर बनाएको जग्गा व्यक्तिगत भोगचलन गर्न अनेकन दाऊपेच गरिरहेका दुर्गा फुयाँल र नीजकी श्रीमतीको बहकावमा आएर नगरपालिकाले अलादतमा विचाराधिन रहेको विषय समेत हेक्का नगरी मन्दिर भत्काउने प्रयास गरेको हो। यस अघि पनि पटकपटक नीजहरुकै पैसा र प्रलोभनको आशमा परेर नगरपालिकाका तत्कालिन प्रमुख उद्धव खरेल, न्यायिक समितिका पर्शुराम काफ्ले र वडा नंम्बर १ का वडा अध्यक्ष सुरेन्द्र लामाले मन्दिर भत्काउने असफल प्रयास गरेका थिए । आफूलाई एमालेको कार्यकर्ता बताउने गरेको नीज फुयाँललाई सघाउन नगरका एमाले पार्टी नै लागेको बूढानीलकण्ठ १ २ र ३ नगरका सबैलाई थाहा भएकै विषय हो । तर कतिपयले भने निकै अवसरवादी चरित्रको उक्त व्यक्तिले स्थानीयबीच फुट ल्याएर फाइद लिइरहेको पनि बताएका छन् ।

फोटोः मन्दिर हटाउन आएको नगरपालिकाको साथमा दुर्गा फुयाँल सेतो सर्टमा

दलबल  सहित आएको टोली योजना अनुसार काम फत्ते गर्न नसकेपछि त्यतिकै फर्किएको छ । तर फेरि पनि आफूहरुको आस्थामा नगरपालिकाले प्रहार गर्नेमा उनीहरु शसंकित छन् ।

के हो विवाद

परम्परा देखि पूजा गरिदै आएको मुहान क्षेत्रमा अतिक्रमण हुन लागेपछि पटक पटक सम्वन्धित वडा नं १ र नगरपालिकामा समेत मौखिक लिखित जानकारी गराउँदा समेत अतिक्रमणकारीकै पक्षमा निर्णयहरु हुन थालेपछे स्थानीयले भेला गरी मन्दिर निर्माण गर्ने निर्णय गरेका थिए । उक्त विषयको जानकारी तत्कालिन नगर प्रमुख उद्धव खरेल सहित तत्कालिन न्यायिक समिति समेतलाई गराएको स्थानीयको भनाइ छ । उनीहरुले नगरलाई विभिन्न मितिमा सो सम्वन्धमा पत्र मार्फत जानकारी समेत गराएका छन् ।

उक्त क्षेत्रमा बनाएको अनधिकृत पर्खाल र पुल बनाउन राखिएको फर्मा समेत स्थानीयले २०७६ सालमै वडा प्रतिनिधि कै रोहवरमा हटाएका थिए । 

हाल विवाद देखिएको सार्वजनिक जग्गा संगै शर्मिला फुयाँलले जग्गा खरीद गरी घर बनाउन लाग्दा उक्त सार्वजनिक जग्गा समेत लिने नियत राखी पर्खाल लगाएका थिए । स्थानीयले आफ्नो पुर्खौली देखिको कुलो बाटोमा अवरोध गर्ने गरी पर्खाल नलगाउन त्यसलाई ठाउँ छाडेर मात्र गर्न आग्रह गरेका थिए । तर स्थानीय छिमेकीहरुको आग्रह विपरित सबै सार्वजनिक पर्ती जग्गा हुलेर नीजले कम्पाण्ड लगाए पछि स्थानीयले वडा र नगरपालिकामा निवेदन दिइ अनधिकृत संरचना हटाउन माग गरे । निवदेन अनुरुप वडा नं १ बाट तत्कालिन वडाअध्यक्ष र सदस्यहरु समेत आइ त्यसो नगर्न र आफैं उक्त क्षेत्र हटाउन सचेत बनाएर गएका थिए । तर त्यसको बाबजुद पनि निर्माण नरोकिएपछि वडा सदस्यकै रोहबरमा २०७६ सालमै पर्खाल भत्काइएको थियो ।

सहमतिमा दुबै पक्षलाई मिलाएर गर्ने भन्ने विषयमा कुराकानी भैरहेको सन्दर्भमा फुयाँल दम्पतीले स्थानीय मध्येकै केहि व्यक्तिहरुलाई नामै किटेर न्यायिक समितिमा उजुरी दिएपछि घटनाले न्यायिक मोड लिएको थियो । न्यायिक समितिका केहि व्यक्तिलाई प्रभावमा पारेर नीजले घरी घरी पत्र काट्ने, वयानका लागि बोलाउने जस्ता क्रियाकलाप गरिरहेपछि नगर प्रमुख, प्रदेश सभाका सदस्यहरु माननीय कुशुम कार्की, न्हुछे नारायण श्रेष्ठ लगायतको उपस्थितिमा स्थानीयहरुले नगर कार्यालयमै छलफल गरेका थिए ।

“मिलेर जाने विषयमा सहमति गरी उक्त बैठक सकिएको केहि दिनमै नगर प्रमुखले मन्दिर भत्काउने निर्णय गरेका रहेछन्,” एक स्थानीयले बताए , “ केहि दिन पछि त्यसबारेमा बुझ्न जाँदा कुनै सरोकार नभएकोजस्तो व्यवहार सहनुपर्यो” । नगरपालिका र वडाका प्रतिनिधि भने आफूहरुले विवाद नहोस र सबैलाई न्याय होस भनेर नै काम गरिरहेको दावी गरेका छन् । पीडितले मलाई पीडा भयो भनेर निवेदन दिएपछि त्यसमा सुनुवाइ हुने र कारबाही हुने न्यायिक समितिकै एक सदस्यले बताए ।

फोटोः सार्वजनिक जमिन लिने नियतले लगाएको कम्पाण्ड पर्खाल

तर स्थानीय निकायले संरक्षण गर्नुपर्ने सार्वजनिक सम्पत्तिको संरक्षण स्थानीयले गरिदिंदा समेत जिम्मेवार अधिकारीबाटै अनेकन पटक लज्जास्पद व्यवहार सहनु परेको दुखेसो स्थानीयको छ । स्थानीय सरकार कहि कतै र कसैबाट केहि हुने आशा नदेखे पछि बाध्य भएर न्यायालयको ढोका ढकढक्याउन पुगेको मन्दिर पुजा व्यवस्थापन समितिका पदाधिकारी बताउँछन् । अन्य पालिकामा बालेन शाह जस्ता जनपक्षमा काम गर्ने उम्मेदवार विजयी भएर आउँदा आफ्नोमा भने जुन जोगी आएपनि कान चिरिएको जस्तो पहिलेकाले दिएको दुःख अबकाले बुझ्लानकी भनेको त उस्तै आएको भन्दै पछुतो मानेका छन् ।

 

फोटोः सार्वजनिक जग्गा आफ्नोमा गाभ्ने हिसावले बनाउदै गरेको पुल

काठमाडौं जिल्ला अदालतले शुरुमा निषेधाज्ञा जारी गरेकोमा मुद्दाको अन्तिम फैसलामा नगरपालिकाको निर्णयलाई नै सदर गरिएको छ । फैसलामा चित्त नबुझे पुनरावेदन जान सक्ने कानुनी अधिकार बमोजिम स्थानीय मन्दिर व्यवस्थापन समिति मार्फत उच्च अदालतमा गएका छन् । उक्त मुद्दाको शुरुको सुनुवाईका लागि यहि जेठ २३ गते पेशी तोकिएको छ । तर पेशी नै चढ्न नदिई हठात् मनशायले अदालतमा रहेको विषयलाई नजरअन्दाज गरी मन्दिर भत्काउन आउनु सर्वथा अनुचित र गैर कानुनी समेत भएको कानुनका जानकारहरुको भनाइ छ । यस बारेमा निर्णय गर्ने, फिल्डमा खटिइ आउने सबै उपर अदालतको मानहानीको मुद्दा दायर गर्ने सकिने पनि कानूनी जानकारहरुको सुझाव छ ।

नगरपालिकाको निर्णयमा निर्णयको कार्यान्वयन दुबै पक्षको रोहबरमा गर्ने भन्ने स्पष्ट किटान गरिएकोमा जेठ १८ गते मध्यान्ह सबै आफ्नो आफ्नो काममा व्यस्त भई बाहिर हिडेको समय छकाल पारेर दलबल सहित स्थानीयको पक्षलाई कुनै जानकारी नदिई आउनुको पछाडी विशुद्ध आर्थिक चलखेल रहेको बुझ्न गाह्रो नपर्ने बुझाई स्थानीय छ । साथै सार्वजनिक सम्पत्ति संरक्षणको पहल गरेकै कारण व्यक्तिगत रिसइवी समेत पालेको र अहिले प्रहरी लगाएर थुनाउँछु पक्राउ गर्छु भन्नै हिडिरहेको सुनिएकोले जीउज्यानको असुरक्षा समेत बढेको  अभियानमा लागेकाहरुको गुनासो छ । “की नगरपालिका हाम्रो सम्पत्ति हो हामी यसो गर्छौं भन्नुपर्यो नभए कुनै एक पक्षको आडमा अर्कोलाई डरधाक धम्की देखाउने कार्य रोक्नु पर्यो,” स्थानीय भन्छन् ।

 

 

 

२०७९ जेष्ठ १९, बिहीबार प्रकाशित 1 Minute 1243 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।