२०८३ भाद्र २७ शनिबार
  • काठमाडौँ

हिमतालको अध्ययन र जोखिम मूल्याङ्कन गर्नुपर्नेमा जोड

काठमाडौँ, भदौ १५ गते ।  हिमाली मुलुक भनेर चिनिने नेपालमा कम्तीमा एक सयभन्दा बढी हिमताल फुट्ने खतरा रहेको छ । विज्ञहरूले हिमतालको जोखिम न्यूनीकरण गर्न नीति, योजना र कार्यक्रम अपरिहार्य भएको सुझाव दिएका छन् । हिमतालको जलसतह घटाउने, पूर्वसूचनाको व्यवस्थापन गर्नेलगायतका कार्यबाट हिमतालको जोखिम न्यूनीकरण हुने सक्ने विज्ञहरूको सुझाव छ ।

म्यान्मारदेखि अफगानिस्तानसम्मका हिन्दुकुश हिमालय क्षेत्रमा सबैभन्दा बढी जोखिममा रहेका तालको सङ्ख्या नेपाल र तिब्बतमा रहेका विभिन्न अध्ययनले देखाएको छ । चाइनिज एकेडेमी अफ साइन्सेसबाट हिमतालका विषयमा विद्यावारिधि गरेका वैज्ञानिक डा. नितेश खड्काका अनुसार हिमतालको उच्च जोखिम नेपाल र तिब्बती क्षेत्रमा बढी छ । भारतलगायतका अन्य मुलुकमा हिन्दुकुश हिमालय क्षेत्र फैलिएको भए पनि ती मुलुकमा जोखिमयुक्त हिमताल कम रहेका छन् ।

डा. खड्काले भन्नुभयो, “हिन्दुकुश हिमालय क्षेत्रमा रहेका तालको अवस्थाबारे सन् २०२० तिर अध्ययन भएको थियो । त्यसपछि खासै अध्ययन भएको छैन । बढ्दो तापक्रमले दैनिक जसो हिउँ पग्लिने, हिमताल बन्ने क्रम वृद्धि भएसँगै हिमतालको जोखिम पनि बढिरहेको छ ।” हिमतालसम्बन्धी गरिएको एक अध्ययनमा नेपालको हिमाली क्षेत्रमा रहेका २१ वटा ताल फुट्ने जोखिम जहिले पनि रहेको कुरा उल्लेख गरिएको थियो । तर डा. खड्काले यो पुरानो अध्ययनले २१ वटा ताल फुट्ने जोखिम भएको देखाए पनि पछिल्ला अवधिमा कम्तीमा एक सयभन्दा बढी हिमताल जोखिमयुक्त रहेका दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेपालतर्फ दुई हजार तीन सयभन्दा बढी हिमताल रहेको तथ्याङ्क सार्वजनिक भएको छ । हरेक हिमताल उत्तिकै जोखिमयुक्त मानिन्छन् । हिमपहिरो गएर बगाएर ल्याएको माटो, ढुङ्गा, गेग्य्रानको सतहमा बन्ने तालको दीर्घजीवन हुन सक्दैन । जति बेला पनि फुट्ने खतरा रहिरहन्छ । त्यसैले २१ वटा ताल मात्र फुट्ने खतरा छ भन्नु पछिल्लो अवस्थामा गलत हुन जान्छ ।”

हिमतालका अध्येता डा. अरुणभक्त श्रेष्ठको भनाइमा हिमतालको जोखिम जहिले पनि जति बेला पनि हुने भएकाले जोखिम न्यूनीकरण र क्षति कम गर्न पूर्वसूचना प्रणाली विकास र विस्तार गर्नुपर्ने हुन्छ ।  यसअघि नेपालले जोखिमको तह निकै उच्च रहेका इम्जा र च्छोरोल्पाको जोखिम न्यूनीकरण गर्ने काम भए जस्तै अरू तालको पनि जोखिम न्यूनीकरण गर्नुपर्ने उहाँको भनाइ छ ।

सन् २०२० को अध्ययन प्रतिवेदनले नेपालबाहेक तिब्बती क्षेत्र र भारतमा समेत गरी ४७ वटा हिमताललाई जोखिमका आधारमा खतराको सूचीमा राखेको छ । डा. खड्काका अनुसार नेपालमा सबैभन्दा बढी कोशी जलाधार क्षेत्रमा रहेका छन् । त्यसमा पनि दुधकोशी जलाधार क्षेत्रमा बढी हिमताल जोखिममा रहेका छन् ।

अध्ययनले तिब्बत क्षेत्रमा २५ र भारतमा एउटा हिमताल यस्तो खतरामा रहेको देखाएको छ । नेपालका अधिकांश ठुला हिमनदीका मुहान तिब्बत भएकाले तिब्बती क्षेत्रमा रहेका जोखिमयुक्त हिमतालको प्रभाव नेपालमा पनि पर्ने भएकाले नेपाल झन् खतराको अवस्थामा रहेको डा. खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वका अरुण, दुधकोशी, तामाकोशी, भोटेकोशी, बुढीगण्डकी, मस्र्याङ्दी, हुम्ला कर्णालीको पानीको मुहान तिब्बत भएकाले यी नदी जलाधार क्षेत्रमा तिब्बतमा जोखिममा रहेका हिमतालको प्रत्यक्ष असर पर्न जान्छ । तिब्बतमा हिमताल फुट्दा यी नदी जलाधार क्षेत्रमा रसुवाको बाढीले भएको जस्तै क्षति हुन जान्छ ।” प्राडा रिजनभक्त कायस्थले हिमतालको जोखिमलाई अत्यन्तै गम्भीर र संवेदनशील ढङ्गले हेरिनुपर्ने बताउनुभयो । उहाँका अनुसार विश्वव्यापी रूपमा बढ्दै गएको तापक्रमले हिउँ पग्लिने, हिमताल बन्ने क्रम जारी छ ।   – लक्ष्मीप्रसाद उपाध्याय/गोरखापत्र दैनिक

२०८३ भाद्र १५, सोमबार प्रकाशित 1 Minute 16 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार