२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

स्थानीय निर्वाचन र अबका दिन

निराजन खनाल

संविधानले तीन तहका सरकारहरूको परिकल्पना गरेको छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार र संविधानको धारा ५० को निर्देशक सिद्धान्तहरू अनुसार स्वायत्त सरकार हो । गणतन्त्रको संस्थागत सुदृढीकरणका लागि बलियो स्थानीय सरकारको आबश्यकता र महत्व निर्वाचनले स्पष्टसंग उजागर गरेको छ । स्थानीय तह संघीय शासन प्रणालीको मूल आधार हो ।

स्थानीय सरकार जनताको सबैभन्दा नजिकको अर्थात् घरदैलोको सरकार हो भन्ने मान्यता व्यवहारिकरुपमा समेत स्थापित भएको छ । स्थानीय तहका उम्मेदवार स्थानीय तहबाटै सिफारिस हुनुपर्छ- जो राम्रा, असल र लोकप्रीय हुन् भन्ने सन्देश पनि निर्वाचनले दलहरुलाई दिएको छ । स्थानीय तह र यसका लागि हुने निर्वाचन प्रत्यक्षरुपमा स्थानीय समुदायसँग जोडिने भएकाले पनि यसप्रति सर्वत्र चासो बढेको हो ।

राजनीतिक दल र शक्तिशाली गठबन्धनका साझा र औपचारिक उम्मेदवार पराजित हुनु र स्वतन्त्र रूपमा उठेका उम्मेदवारहरू जित्नुलाई अब दलहरुले मतदाताहरुको मनोविज्ञानसँग जोडेर विश्लेषण गर्नुपर्ने भएको छ । मतदाताहरुले स्वतन्त्रलाई व्यक्त गरेको मत दलहरुप्रतिको असन्तुसष्टि हो र यसले दलहरुलाई कमजोर बनायो भनेर मात्रै कतिपयले तर्क गरेको पनि सुनिन्छ । तर मतदाताले आफ्नो असन्तुष्टि पोख्दैमा दलहरू कमजोर हुदैनन् । बरु यो एउटा लोकतान्त्रिक अभ्यासभित्रको स्वाभाविक प्रकृया हो।

यस अर्थमा यो निर्वाचनले दलहरुलाई सचेत हुने र आफूलाई सुधार्ने मौका दिएको अधिकांशको बुझाइ छ । जनताको बीचमा एकपटक परीक्षण भैसकेपछि फेरि उसैलाई जनतामाझ प्रस्तुत गर्दा उसको ५ वर्षे कार्यकालको समीक्षा गर्नुपर्दोरैछ भन्ने चेंत पनि यो निर्वाचनले दिएको छ । धेरैजसो स्थानीय तहमा दोहोरिएका अनुहारहरु पराजित हुन पुगे । दलहरुले नयाँ स्थानमा जिते तर अघिल्लो निर्वाचनमा जितेका ठाँउमा हारे । मतदाताहरुले दलहरुलाई परीक्षण गर्न चाहे वा अघिल्लो कार्यकालमा सम्बन्धित जनप्रतिनिधिहरुले नागरिकको मत जित्न सकेनन्- जनमतले यथार्थ बुझ्न भनेको छ ।

स्थानीय तह निर्वाचनमा हालसम्म प्रमुख राजनीतिक दलबाट ४९ प्रतिशतसम्म युवा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचितमध्ये २१ देखि ४० वर्ष उमेर समूहका झण्डै ४२ प्रतिशत छन् । युवा जोश जाँगरका साथ काम गर्ने प्रतिब्धदता उनीहरुको छ । उनीहरुको काम गर्ने शैली र बाचा कार्यान्वयनको पाटो भोलिका दिनमा देखिदै जाला तर जनताबाट अनुमोदित हुन उमेरभन्दा पनि जनताको विश्वास र काम गरेर मन जित्ने कला प्रमुख हुन्छ भन्ने कुरा ललितपुर महानगरपालिकाका कांग्रेस उम्मेदवार चिरीबाबु महर्जन एउटा उदाहरण हुन सक्छन् ।

यस पटकको निर्वाचनमा गठबन्धन गर्ने प्रवृत्ति अझ फराकिलो भयो । सैद्धान्तिक मान्यता र विगतमा व्यवहारका आधारमा विपरित ध्रुवमा उभिएका दलहरुबीच भएको गठबन्धन संस्कृतिले लोकतन्त्रको सौन्दर्यलाई उजागर गरेको विश्लेषण गरिदैछ । लोकतन्त्रको सुन्दर पक्षका रुपमा रहेको सह–अस्तित्व र सहकार्यको मूल मर्मलाई समुदयस्तरबाटै अनुमोदन गराई मुलुकलाई राजनीतिक स्थिरताको बाटोमा अघि बढाउन यसले सहयोग गर्ने विश्वास पनि गरिएको छ ।

तर गठबन्धनकै कारण शीर्ष दुई पदमा संविधानले परिकल्पना गरेको लिंगीय सन्तुलनमा भने ठूलो असर पर्न पुग्यो । यसपटकको प्रचारशैली अलि फरक देखियो । परम्परागत राजनीतिक प्रचारबाजीभन्दा फरक रह्यो । यसलाई सयमयानुकुल सफल व्यवस्थापनको संकेतको रुपमा लिन सकिन्छ ।

तर निर्वाचन व्यवस्थापनका सम्बन्धमा भने यो निर्वाचनले केही पाठ सिकाएको छ । एकै चरण वा एकै दिनमा स्थानीय निर्वाचन गर्ने विषय, मतपत्रमा देखिएको समस्या र निर्वाचन आयोगको काममा विकेन्द्रित व्यवस्थापन एवं मतगणनानामा देखिएको सुस्तता र मतदानमा प्रविधिको प्रयोग-यी विषयमा भने समीक्षा गर्न जरुरी छ ।

किनकि मुखैमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन पनि छ । धेरै विषयहरु परम्परागत भएपनि कडा प्रावधान सहितको आचारसंहिताको जगमा उभिएर सुरु गरिएको प्रचारप्रसारको शैली र निर्वाचनको अघिल्लो दिन मात्रै १८ वर्ष पुगेको नयाँ पुस्ताको नयाँ अनुभवका बीच स्थानीय सरकारले नयाँ नेतृत्व पाएको छ । बाँकी त जनतासमक्ष गरेका बाचाको कार्यान्वयनमा भर पर्ने कुरा हो ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 1 Minute 308 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।