
काठमाडौं साउन २१ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना देश छोडेर भाग्नुभएपछि त्यहाँको सत्ता सञ्चालनको नेतृत्व सेनाको हातमा गएको छ ।
तीन सय जना भन्दा बढीको मृत्यु हुनेगरी बंगलादेशमा जारी विद्यार्थी प्रदर्शनमा सहभागी प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निवास भित्रै छिरेर तोडफोड शुरु गरेपछि प्रधानमन्त्री हसिना देश छोडेर भाग्नु भएको हो ।



उग्र बनेका प्रदर्शनकारीहरु प्रधानमन्त्रीको निवासमा पसेपछि सेनाले प्रधानमन्त्री हसिना र उहाँकी बहिनीलाई हेलिकप्टरमा त्यहाँबाट अन्यत्रै लगेको थियो । उहाँ कहाँ हुनुहुन्छ भन्ने वास्तविकता थाहा नभएपनि अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले भारत जानुभएको अनुमान गरेका छन् ।
प्रधानमन्त्री हसिना विदेश पलायन भएपछि त्यहाँको सेनाले सत्ता नेतृत्वको गृहकार्य शुरु गरेको छ । सेना प्रमुख वकर उज्जामनले देशवासीलाई सम्बोधन गर्दै अब अन्तरिम सरकार गठन हुने बताउनुभएको छ ।
अन्तरिम सरकारको नेतृत्व कसले लिने भन्ने स्पष्ट नबताएपनि सेना प्रमुखले राष्ट्रपतिसंग सरकार गठनका लागि परामर्श गरिसकेका छन् ।
किन भयो आन्दोलन ?
सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्र गराएर बंगलादेश बनाउन ज्यानको बलिदान दिएकाहरुको सन्ततीका बंगलादेश सरकारले सरकारी नोकरीमा विशेष आरक्षणको व्यवस्था गरेको छ । आरक्षित गरिएको सार्वजनिक क्षेत्रको त्यहि एक तिहाइ नोकरीको प्रावधान खारेजीको माग गर्दै विद्यार्थीहरुले आन्दोलन शुरु गरेका थिए ।
विद्यार्थीहरूले उक्त प्रणालीलाई भेदभावपूर्ण भन्दै क्षमताका आधारमा भर्ना गर्न माग गरिरहेका छन् ।
१७ करोड बढी जनसंख्या रहेको बंगलादेशमा आरक्षणले योग्य व्यक्तिहरु अवसरबाट वञ्चित गराएको भन्दै गत महिना विद्यार्थी संगठनहरुको नेतृत्वमा विरोध शुरु भएको थियो । विद्यार्थी प्रदर्शनमा झण्डै डेढ सयको मृत्यु भएपछि केहि समयका लागि प्रदर्शन स्थगन गरिएको थियो ।
तर त्यहि समयमा सरकारले विद्यार्थी नेताहरुलाई पक्राउ र धरपकड गरेपछि एक साता अघिबाट पुनः आन्दोलन शुरु भयो । र यस पटक आन्दोलन सरकार र प्रधानमन्त्री हसिनाको विरुद्धमा केन्द्रित भयो ।
उग्र बन्दै गएको आन्दोलन
आन्दोलनको एक महिनाको अवधिमा ३ सय बढीले ज्यान गुमाइसकेकोमा आइतबार मात्रै आन्दोलनमा भएको झडपमा एकै दिन करीब सय जनाको मृत्यु भयो । आन्दोलन उग्र बन्दै गएपछि प्रधानमन्त्री हसिनाले राजीनामा दिनुभयो । तर आक्रोशित भिडले राजधानी ढाकास्थित प्रधानमन्त्री निवासमा पसेर तोडफोड गरी त्यहाँ लुटपाट गर्न थालेपछि सन् २००९ देखि लगातार बंगलादेशको प्रधानमन्त्री रहनुभएकी हसिना आफ्नी बहिनीलाई साथै लिएर सेनाको हेलिकप्टरमा ढाकाबाट बाहिरिनुभयो ।
अब के होला ?
प्रधानमन्त्रीको वहिर्गमनले तत्कालका लागि बंगलादेशको प्रदर्शन मथ्थर हुने आकँलन गरिएको छ । तर आन्दोलनको बलमा निर्वाचित प्रधानमन्त्रीको सत्ता बहिर्गन र त्यसले निम्त्याउन सक्ने थप अन्यौलताबारे विश्लेषण पनि शुरु भइसकेका छन् । किनकी प्रधानमन्त्री हसिनाप्रतिको असन्तुष्टिका कारण बंगलादेशलाई स्वतन्त्र गराउन अहम् भुमिका खेलेर बंगलादेशकै पिताको उपनाम पाउनुभएको शेखमुजिबुर रहमानको शालिकमा समेत प्रदर्शनकारीहरुले तोडफोड गरेका छन् । प्रधानमन्त्री कार्यालयमा पनि तोडफोड र लुटपाट गरिएको छ । डेढ दशक यता बंगलादेशको कार्यकारी तहमा रहदै आनुभएकी नेतृको बहिर्गमन पछि अब बंगलादेशले कुन बाटोमा अघि बढ्ला – शान्ति वा पुनः अशान्ति र प्रदर्शनको बाटोमा । विश्वले नियालिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।