२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

उभौली पर्वमा साकेला नृत्यको रौनक

काठमाडौं । किराँत समुदायले महान् चाड उभौली पर्व साकेला नृत्य प्रस्तुत गर्दै मनाए । किराँत राइ समुदायले येलेदुङ ५०८२ औ उभौली पर्व मनाएका हुन् । काठमाण्डौ उपत्यकामा रहेका किराँत राइहरुले टुडिखेलमा साकेला नृत्य प्रदर्शन सहित प्रकृति, भूमि, पितृ र अनाजको पुजाआजा गरी उभौली पर्व मनाएका हुन् ।
किराँत राइ समुदायका राई, लिम्बू, याक्खा, सुनुवार लगायतले ‘अन्नबाली सप्रियोस, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति आइनलागोस्, फलिफाप होस्’ भन्ने कामनामा भूमि, पितृ र अन्नको पूजाआजा गरी साकेला चाड मनाउने प्रचलन रहिआएको छ ।

किरात राइ समुदायले वैशाख पूर्णिमाको दिन देखी शुरु गरेर १५ दिन सम्म साकेला उभौली चाड मनाउने गर्दछन् । पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामकासाथ मनाउने गरिन्छ। साकेला थानमा पितृभूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला नाच्न सुरु गर्दछन ।

किराँत समुदायको इतिहास र सभ्यतासँग सम्बन्धित साकेला अन्नबाली छर्ने बेला अर्थात वैशाख पूर्णिमा उभौली र अन्नबाली उठाउने याम मंसिर पूर्णिमामा उधौली मनाउने गर्दछन् ।

साकेलाको अवसरमा परम्परागत भेषभूषामा सजिएका दाजुभाइ, दिदिबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउदै एक आपसमा शुभकामना आदान–प्रदान गर्दै साकेला नृत्य गर्दै मनाउने प्रचलन छ ।

साकेन्वा, साकेवा, साकला लगायतका नामबाट चिनिने साकेलाको अवसरमा नाचिने साकेला नाचमा मानवको जन्मदेखि मृत्युसम्मका र हरेक पशुपंक्षिको क्रियाकलापलाई चित्रण गर्दै नाच्ने गरिन्छ।

किरात बसोबास रहेको प्रत्येक गाउँ युवा युवती, केटाकेटी, बुढापाकाको जमघट तथा साकेला गीत र नाचले दिनरात गुञ्जायमान बन्ने गरेको छ । आफन्त, साथीभाइ, नरनाता, छरछिमेकबीच पारिवारिक तथा व्यक्ति–व्यक्तिबीचमा उभौली चाडको शुभकामना आदान प्रदान गर्दै परिकार खाएर रमाइलो गर्ने प्रचलन रहेको छ ।

विभिन्न जातजातिको मिश्रित बसोबास रहेको ठाउँका गैर–किरातीले समेत जातीय सदभाव र साँस्कृतिक सहअस्तित्वका रुपमा साकेला नाच्ने गरेका छन्।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 111 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।