२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

बूढानीलकण्ठमा ५५ मतदान केन्द्र, ४८ हजार ३०३ मतदाता

काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा ५५ मतदान केन्द्र राखिने भएको छ ।

काठमाडौँ उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठमा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १९ मतदानस्थलमा ५५ मतदान केन्द्र राखिने नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराइले राससलाई जानकारी दिनुभयो ।

नगरपालिकामा ६७ पदका लागि २८५ जनाले उम्मेदवारी दिनुभएको छ । जसमध्ये नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दिनुभएकोे निर्वाचन अधिकृत भट्टराइले बताउनुभयो ।

उहाँले निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको बताउनुभयो ।

यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उहाँको भनाइ छ ।

काठमाडौँ जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, बूढानीलकण्ठ र कपन गाउँ विकास समिति मिलाएर बनाइएको यो नगरपालिकामा १३ वडा रहेका छन् ।

काठमाडौँको दोस्रो ठूलो नगरपालिका बूढानिलकण्ठमा स्थानीय तह निर्वाचनका लागि कूल ४८ हजार ३०३ मतदाता रहेको निर्वाचन कार्यालय बूढानीलकण्ठले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि सो नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसबाट प्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, नेकपा (एमाले) बाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा तथा नेकपा (माओवादी केन्द्र) बाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी तथा उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिनुभएको छ ।

विस २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उद्धव खरेल र उपप्रमुखमा पनि एमालेकै रमादेवी राइ विजयी हुनुभएको थियो ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 0 Minutes 124 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।