काठमाडौं । स्पेनले फिफा विश्वकप फुटबल सन २०२६ को उपाधि जितेको छ । अमेरिकाको न्यु जर्सीमा रहेको मेटलाइफ रंगशालामा आज बिहान सम्पन्न फाइनलमा अर्जेन्टिनालाई १–० ले गोलले पराजित गर्दै स्पेन विश्व च्याम्पियन बन्न सफल भयो ।
सन् २०१० पछि दोस्रो पटक विश्वकपको उपाधि जित्दै स्पेनले विश्व फुटबलमा आफ्नो प्रभुत्व फेरि स्थापित गरेको छ । अत्यन्त प्रतिस्पर्धात्मक बनेको फाइनल खेलमा स्पेनका लागि निर्णायक गोल फेरान टोरेसले गरे । निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।


अतिरिक्त समयमा स्पेनका फेर्रान टोरेजले १०६ औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनाविरुद्ध १–० को अग्रता लिएका थिए । त्यसपछि खेलमा थप गोल हुन सकेन र स्पेनले अर्जेन्टिनामाथि १–० गोलको जित हासिल गर्यो।
खेलको निर्धारित ९० मिनेटको समयमा एन्जो फर्नान्डेजले दोहोरो पहेँलो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित बनेको थियो । सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले गोलअन्तरले पराजित गर्दै विश्वकपको फाइनल यात्रा तय गरेको थियो ।
स्पेनले फ्रान्सलाई २–० गोल अन्तरले हराउँदै फाइनलमा पुगेको थियो । टोरेसले गरेको एउटै गोल नै स्पेनलाई ऐतिहासिक जित दिलाउन पर्याप्त बन्यो । पूरै खेलभर बल नियन्त्रण, पास आदानप्रदान र अवसर सिर्जनामा स्पेन हावी देखिएको थियो । खेलको अन्त्यतिर अर्जेन्टिना १० खेलाडीमा सीमित भएपछि पनि स्पेनले धैर्य कायम राख्दै अग्रता जोगायो ।
यो सँगै प्रशिक्षक लुइस दे ला फुएन्तेले दुई वर्षअघि युरोकप जिताएपछि अब विश्वकप पनि जिताउँदै स्पेनी फुटबलको नयाँ स्वर्णिम युगको नेतृत्व गरेका छन् ।
युवा र अनुभवी खेलाडीको सन्तुलित टोली निर्माण गरेका उनले स्पेनलाई लगातार ठूला प्रतियोगितामा सफलता दिलाएका हुन् । उपाधि जितेपछि प्रशिक्षक दे ला फुएन्तेले यो सफलता सम्पूर्ण टोली, युवा पुस्ता र स्पेनी फुटबलको दीर्घकालीन योजनाको परिणाम भएको प्रतिक्रिया दिएका छन् ।
फाइनलमा पराजित भएसँगै अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको अर्को विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो । उपाधि वितरण समारोहमा मेस्सी भावुक बनेका दृश्यहरूले समर्थकलाई समेत भावुक बनाएको थियो । सन् २०३० को विश्वकप शुरु हुँदा मेस्सी ४२ वर्षका हुने भएकाले यो उनको अन्तिम विश्वकप हुन सक्ने अनुमान गरिएको छ ।
२०३० को विश्वकप स्पेन, पोर्चुगल, मोरक्कोमा
अमेरिका, क्यानडा र मेक्सिकोमा सम्पन्न फिफा विश्वकप २०२६ को समापनसँगै अब विश्व फुटबलको ध्यान सन् २०३० को विश्वकपतर्फ केन्द्रित भएको छ ।
सय वर्षको इतिहास मनाउन लागिएको विश्वकप सन २०३० अहिलेसम्मकै सबैभन्दा विशेष संस्करण हुनेछ । आउँने विश्वकप पहिलो पटक प्रतियोगिता तीन महादेश र छ देशमा आयोजना गरिनेछ ।
फिफाले विश्वकपको शताब्दी वर्षलाई ऐतिहासिक बनाउन स्पेन, पोर्चुगल र मोरक्कोलाई मुख्य आयोजक राष्ट्रको रूपमा चयन गरेको छ । साथै, सन् १९३० मा पहिलो विश्वकप आयोजना भएको सम्झनामा दक्षिण अमेरिकाका उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा उद्घाटन चरणका विशेष खेलहरू आयोजना गरिनेछन् ।
मुख्य आयोजक देशहरु स्पेन, पोर्चुगल, मोरक्को हुन् भने विशेष उद्घाटन खेल आयोजना गर्ने देशहरू उरुग्वे, अर्जेन्टिना, पाराग्वेमा हुनेछन् । विश्वकप २०२६ मा जस्तै विश्वकप २०३० मा पनि ४८ राष्ट्र सहभागी हुनेछन् ।
प्रतियोगितामा सय भन्दा बढी खेल हुने अपेक्षा गरिएको छ, जसले यसलाई इतिहासकै सबैभन्दा ठूलो विश्वकपमध्ये एक बनाउनेछ । विश्वकप २०३० का सबै आयोजक राष्ट्रहरूले स्वतः प्रतियोगितामा स्थान पाउनेछन् । यसअनुसार स्पेन, पोर्चुगल, मोरक्को, उरुग्वे, अर्जेन्टिना र पाराग्वेले छनोट प्रतियोगिता खेल्नुपर्ने छैन ।
विश्वकप २०३० ले तीन महादेशलाई एउटै प्रतियोगितामार्फत जोड्ने भएकाले यसलाई फुटबल इतिहासकै सबैभन्दा अनौठो र ऐतिहासिक संस्करणका रूपमा हेरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




