
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकतासम्बन्धी विधेयक पारित गरी नागरिकको समस्या समाधान गरिने बताउनुभएको छ । पाँचदलीय गठबन्धनद्वारा आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले नागरिकता समस्या समाधानका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गरी पारित गरिने बताउनुभयो ।
‘‘नागरिकताको समस्या समाधानका लागि नागरिकतासम्बन्धी विधेयक संसद्मा प्रस्तुत गर्न हामीले खोज्यौँ”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “तर एमालेले गर्दै आएको संसद् अवरुद्धका कारण विधेयक पेस गर्न सकेका छैनौँ ।” यद्यपि अब बस्ने संसद्को बैठकमा विधेयक टेबल गरी पारित गरिने उहाँको भनाइ थियो । पाँच दलीय गठबन्धनलाई जोगाएर लैजानु अहिलेको आवश्यकता रहेको प्रसङ्ग उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले पार्टीको निर्देशन र गठबन्धनविरुद्ध जानेलाई तत्काल कारबाही गरिने बताउनुभयो ।



नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऐतिहासिक आवश्यकताका आधारमा गठबन्धन बनेकाले गठबन्धलाई मजबुत बनाएर लैजान सकिएमात्र मुलुकमा राजनीतिक स्थायित्व र विकास सम्भव हुने बताउनुभयो ।
तीनै तहको निर्वाचनमार्फत जनताको तागत लिई मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिको नयाँ युगको थालनी गर्ने सोचका साथ पाँच दलीय गठबन्धन बनेको उल्लेख गर्नुहुँदै अध्यक्ष प्रचण्डले लोकतन्त्रको रक्षा गर्न, गणतन्त्रको सुदृढीकरणका लागि र जनताको इच्छा, आकाङ्क्षा पूरा गर्नका निम्ति तीनै तहको निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।
सभामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगामी शक्तिविरुद्ध गठबन्धन भएकाले गठबन्धनलाई इमान्दारितापूर्वक जिताउनुपर्ने बताउनुभयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र प्रतिगामीका विरुद्ध गठबन्धनलाई निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्नुहुँदै अध्यक्ष यादवले गठबन्धन पक्षमा देशव्यापी रुपमा जनलहर बढ्दै गएको दाबीसमेत गर्नुभयो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनका साझा उम्मेदवारविरुद्ध घात र अन्तरघात गर्नेलाई पार्टीले कारबाही गर्ने बताउनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।