२०८३ श्रावण १२ मंगलवार
  • काठमाडौँ

आज भाइटीकाः दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै भाइटीका लगाएर मनाइदै

काठमाडौं कार्तिक ६ । तिहारको मुख्य दिन आज भाइटीका पर्व । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ ।

बिहान सबेरैदेखि घर–घरमा चहलपहल सुरु भइसकेको छ । टाढा टाढाका दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउन हिजो बेलुकी नै माइती पुगिसक्छन् । नजिक माइती हुने दिदी बहिनी आज बिहान पनि माइत जान्छन् । कतै दाजुभाइ आउने प्रतीक्षा र हर्षमा टीका लगाउने चाँजोपाँजो पनि होला । झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, भाइटिका,दाजु भाइ दिदी बहिनीको सम्बन्ध यस्तै विशेषता तिहारले बोकेको हुन्छ ।

यो पर्वमा फुल र मालाको राम्रै ब्यापार हुन्छ । आजको दिन लामो समयदेखि भेटघाट नभएका दाजुभाइ तथा दिदीबहिनीको आज भेटघाट हुन्छ । आपसमा माया अनि सद्भाव साटासाट हुँदै छ । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ–आफ्नै तरिकाले मनाउने चलन छ । भ्रातृत्व अनि आत्मीयताको आजको दिन साँच्चै नै अत्यन्त महत्त्वपूर्ण र रमाइलो हुन्छ ।

विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवाःसमुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ । यो पर्वमा चेलीबेटीले माइतीलाई आशिर्वाद दिने गरिन्छ । देउसी – भैलोको यस पर्वमा विशेष साँस्कृतिक महत्व छ ।

२०८२ कार्तिक ६, बिहीबार प्रकाशित 0 Minutes 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।