२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

सञ्चारकर्मी माथिको आक्रमणको सर्वत्र निन्दा

काठमाडौै चैत १६ । शुक्रबारको प्रदर्शनका क्रममा तीनकुनेस्थित भवनमा आगजनी हुँदा एभिन्युज टेलिभिजनका भिडियो पत्रकार सुरेश रजकको मृत्यु भयो । आन्दोलनकारीले तीनकुनेस्थित व्यापारिक भवन राजभवनमा आगो लगाउदा पत्रकार रजकको जलेर मृत्यु भएको हो । रजकले भवनभित्रको कोठाबाट आफ्नै धुनमा दृश्य छायाँकन गरिरहेकै अवस्थामा बाहिरबाट ताला लगाइएको थियो । समाजिक सञ्जालमा सार्वजनिक भिडियोमा रजकले भवनभित्रको कोठाबाट भिडियो खिचिरहेको देखिन्छ । उनको शव आन्दोलनकारीले आगो लगाइदिएको घरमा शुक्रबार राती भेटिएको हो ।

पत्रकारहरु जहिलै जोखिममा काम गर्छन् । विश्वकै जोखिमको पेशा मध्ये पत्रकारिता पनि हो । तर नेपालमा प्रदर्शनकारीले गरेको आगजनीमा परेर ज्यान गुमाउने रजक संभवत पहिलो पत्रकार हुन् । यसैबीच लोकतन्त्र र नागरिकको सूचनाको हकलाइ सुनिश्चित गर्ने स्वतन्त्र प्रेस विरोधी गतिविधिको सर्वत्र निन्दा गरिएको छ । सञ्चार गृहमाथिको आक्रमण र सञ्चारकर्मीको जलेर  मृत्यु भएको विषयलाइ  अराजक र अमानवीय घटनाकारुपमा पत्रकारहरुले लिएका छन् ।

पत्रकारमाथिको आक्रमण योजनाबद्ध नै थियो भन्ने कुराको पुष्टि सञ्चार गृहमाथिको आक्रमणले पनि गर्छ । पूर्व राजा समर्थकहरुको आन्दोलनले हिंसात्मक रुप लिंदा उनीहरुको प्रमुख निशानामा सञ्चार गृह र सञ्चारकर्मी पनि परेका थिए । प्रदर्शनकारीले कान्तिपुर टेलिभिजन तथा अन्नपूर्ण मिडियाको कार्यालयमा आक्रमण गरे । यस्तै हिमालयन टेलिभिजनको सवारीसाधन तोडफोड गरे । नेपाल पत्रकार महासंघको अगुवाइमा शनिबार माइतीघरमा भएको विरोध प्रदर्शनमा पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै पत्रकारहरुले पेसागत सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । माण्डौको तीनकुनेमा शान्तिपूर्ण सभा गर्ने प्रतिबद्धता जनाएको दुर्गा प्रसाइ नेतृत्वको आन्दोलन अराजक बन्दा सञ्चारगृहले ठूलो क्षति ब्यहोर्नु पर्‍यो भने एकजना सञ्चारकर्मीले ज्यान नै गुमाए । नेपाल पत्रकार महासंघका अनुसार  विभिन्न सञ्चार गृहको भवनमा आगो लगाउने प्रयास गरिनुका साथै हुलहुज्जत, ढुङ्गा प्रहार र सवारीसाधन तोडफोड गरिएको छ । यसैगरी सञ्चारकर्मीलाई आतङ्कित पार्ने काम भएको छ ।

२०८१ चैत्र १६, शनिबार प्रकाशित 0 Minutes 28 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।