२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

१५ खेल सकिँदा जनकपुर शीर्ष स्थानमा; रोहित सर्वाधिक रनकर्ता

काठमाडौं मंसिर २३ । नेपाल प्रिमियर लिग एनपिएलमा समूह चरणका कुल १५ खेल सकिएका छन् । यही मङ्सिर १५ गतेदेखि सुरु भएको एनपिएलमा हालसम्म भएका खेलमा अपराजित एक मात्र टोली जनकपुर बोल्ट्स ८ अङ्क सहित शीर्ष स्थानमा रहेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल प्रदर्शनका आधारमा सबैभन्दा बलियो देखिएको जनकपुरले विराटनगर किङ्ग्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्सलाई पराजित गर्दै अपराजित यात्रा कायमै राखेको छ । यसैगरी अर्को बलियो ठानिएको सुदूरपश्चिम रोयल्सले तीन खेल जित्दा एउटा खेलमा हार व्यहोर्दै ६ अङ्क सहित दोस्रो स्थानमा छ । सुदूरपश्चिमले विराटनगर, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्सलाई पराजित गरेको छ भने चितवन राइनोजसँग पराजित भएको छ ।

त्यस्तै तीन खेलमा जित र एउटामा हार व्यहोरेको चितवन राइनोज ६ अङ्क सहित तालिकाको तेस्रो स्थानमा छ । एनपिएलमा कर्णाली याक्सले मध्यम प्रदर्शन गरेको छ । चौथो स्थानमा रहेको कर्णालीले चार खेलमा दुईमा जित र दुईमा हार बेहोर्दै चार अङ्क जोडेको छ । तीन खेलमा एक खेल मात्रै जितेको पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।

काठमाडौँ गुर्खाज दुई अङ्कसहित छैटौँ स्थानमा छ । यस्तै विराटनगर किङ्ग्स दुई अङ्कका साथ सातौँ स्थानमा छ । एनपिएलमा हालसम्म कुनै खेल जित्न नसकेको लुम्बिनी लायन्स अङ्क विहीन हुदै तालिकाको पुछारमा छ । तर लुम्बिनीका कप्तान रोहित पौडेल हालसम्ममा सर्वाधिक १८१ रन बनाएका छन् ।

चितवन राइनोजका सोहिल तरनवरले सर्वाधिक ९ विकेट लिन सफल भएका छन् ।

आज कुनै पनि खेल नरहेको एनपिएलमा भोलि भने दुई वटा खेल हुनेछन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने तालिका छ ।

२०८१ मंसिर २३, आईतवार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।