
काठमाडौं मंसिर २२ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४२ रनमा समेटियो । यो सँगै लुम्बिनीले प्रतियोगितामा लगातार तेस्रो हार बेहोर्दै अङ्क तालिकाको पुछारमा पुगेको छ ।
पहिलो जितको खोजीमा लक्ष्य पछ्याएको लुम्बिनीलाई सुरुमै झट्का लाग्यो । शून्य रन छँदा पहिलो विकेट गुमाएको उसले पाँच रनमा दोस्रो विकेट र नौ रन छँदा तेस्रो विकेट गुमायो । साथै १९ रन छँदा चौथो र पाँचौ विकेट गुमाएपछि लुम्बिनी दबाबमा परेको थियो । त्यसपछि ब्याटिङ गर्न आएका विवेक यादवले डेथ ओभरमा अविजित ७७ रनको एनिङ्स खेले पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।



लुम्बिनीका अर्जुन साउद, साद विन जफर, रामेन साइमन्डस् र दुर्गेश गुप्ता शून्य रनमा आउट हुँदा सुन्दीप जोराले २० र दिनेश अधिकारीले १४ रन बनाए । अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमको जितमा ब्राण्डोन म्याक मुलेन र सेफ अलि जेबले समान तीन विकेट लिए भने स्टक कुगेलेनले दुई र अभिनाश बोहोराले एक विकेट हात पारे । त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ओपनर सेफ अलि जेबको आक्रमक ब्याटिङमा कुल एक सय ८७ रनको योगफल तयार पारेको थियो । कूल १९ बल खेलेका दीपेन्द्र सिंह ऐरीले चार चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाए । यो जितसँगै ६ अङ्क बनाएको सुदूरपश्चिम जनकपुरलाई नेट रन रेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लिएको छ ।
आजै भएको अर्को खेलमा कर्णाली याक्सले दोस्रो जित दर्ता गराएको छ । कर्णालीले बिराटनगर किङ्ग्सलाई सात रनले पराजित गरेको हो । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगरलाई सस्तैमा समेट्न नन्दन यादवले तीन विकेट लिए । बिराटनगरका लागि निकोलस कीर्तनले ३९ बलमा चार चौका र एक छक्काको सहयोगमा ४० रन बनाए पनि जितका लागि पर्याप्त भएन् । उसका लागि ओपनर लोकेश बमले १९ र दीपक बोहोराले १८ रनको योगदान दिए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।
टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ३३ रन मात्रै बनाएको थियो । कर्णालीका पाँच जना ब्याटरले खाता नै खोल्न सकेनन् । गुलशन झा, सोमपाल कामी, नन्दन यादव, विपीन शर्मा र उनिश ठकुरी डक आउट भए ।
अघिल्ला दुई वटा खेलमा चम्केका ओपनर शिखर धवनले व्यक्तिगत पाँच रन बनाएर आउट भए । चार खेलमा दुईमा जित हासिल गरेको कर्णालीसँग चार अङ्क छ भने समान खेल खेलेको विराटनगरसँग एक जितका साथ दुई अङ्क छ । भोलि पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज खेल्दैछन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।