
काठमाडौं कार्तिक १५ । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य,धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । त्यसैले साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई दिपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।
पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । दिपावली गर्दा दीयोमा तेल राखेर बत्ति बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद्हरुको मत छ । दीपावलीसंगै पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना,पैसा,धान,चामल,फलफूल,सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
आजै साँझ समूह बनाई घरघरमा भैलो खेल्ने परम्परा पनि रहिआएको छ ।



भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको विभिन्न हिन्दू धर्मग्रन्थमा उल्लेख छ । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको धार्मिक कथन छ ।
तिहार शुरु भएदेखि नै देखिएको बत्ति र फूलको झिलिमिलि लक्ष्मी पूजाका अवसरमा आज शहर बजारमा अझ बढि देखिएको छ । बत्तीहरुको झिलिमिलिले गर्दा नै तिहार पर्वलाई दिपावली भन्ने गरिएको हो । यस वर्ष गाई पूजा भने भोलि विहान गर्नुपर्ने धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईको भनाइ छ ।।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।