
काठमाडौं, कार्तिक ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । शनिवार बिहान पौने ३ बजेतिर पोखरा पुर्याइएको थियो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षणपछि उहाँलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।
सूर्य दर्शन सहकारी ठगीका अनुसन्धानकर्तासमेत रहनुभएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले लामिछानेको स्वास्थ्य अवस्था ठिक रहेको र जिल्ला प्रहरी कार्यालयको हिरासतमा छुट्टै राखिएको उल्लेख गर्नुभयो । कास्की प्रहरीकै हिरासतमा यही अभियोगमा पक्राउ पर्नुभएका गोरखा मिडिया सञ्चालक छविलाल जोशीसमेत हुनुहुन्छ ।



“लामिछानेलाई छुट्टै राखिएको छ । उहाँ विरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुन्छ,” प्रहरी नायब उपरीक्षक शर्माले भन्नुभयो, “आज शनिवार बिदा भएको आइतबार मात्र अदालतमा पेस गर्छौँ ।”
संसदीय छानबिन समितिले सहकारी ठगीमा संलग्न देखिएको भन्दै लामिछानेलाई पनि कारबाही गर्न सिफारिस गरेको थियो । सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी गठित संसदीय छानबिन समितिले गत भदौ ३१ गते प्रतिनिधि सभामा प्रतिवेदन पेस गरेको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।