२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

सहकारी ठगीको अभियोगमा रवि लामिछाने पक्राउ; आइतबार कास्की अदालतमा पेस गरिने

काठमाडौं, कार्तिक २ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी गरेको अभियोगमा पक्राउ गरिएको छ । सहकारी छानवीन तथा सिफारिस उच्च स्तरीय संसदीय छानवीन समितिले सहकारीको करोडौं रकम हिनामिना गरी गोर्खा मिडिया नेटवर्क मार्फत टेलिभिजनमा लगानी गरी ठगी भएको कार्यमा लामिछानेको पनि संलग्नता देखिएको भन्दै कारबाहीको सिफारिस गरेको थियो । कास्की जिल्ला अदालतबाट जारी भएको पक्राउ पुर्जी सहित रास्वपाको पार्टी कार्यालय बनस्थलीमा पुगेको प्रहरी टोलीले शुक्रबार साँझ लामिछानेलाई पक्राउ गरेको हो ।

लामिछानेविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा अनुसन्धान हुने भएको छ । पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछानेविरुद्ध कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४ मा रहेको सूर्य दर्शन बचत तथा ऋण सहकारीको रकम गोरखा मिडिया प्रालिमा लागि ठगी गरेको अभियोग छ ।

जिल्ला अदालत कास्कीबाट शुक्रवार दिउँसो पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई शुक्रवार साँझ पक्राउ गरी स्थल मार्गबाट पोखरा लगिएको छ । शनिबार सार्वजनिक विदा भएकोले आइतबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा पेस गरिने प्रहरीले जनाएको छ ।

लामिछाने गोर्खा मिडियाको तत्कालीन प्रबन्ध निर्देशक लामिछाने हुनुहुन्छ । उहाँसहित विभिन्न कम्पनी र व्यक्तिलाई विपक्षी बनाएर सहकारी पीडितले गत वर्ष माघ २२ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । कास्की प्रहरीले शुक्रवारै लामिछानेसहित १४ जनाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको छ ।

सूर्य दर्शन बचत तथा ऋण सहकारीमा १८ हजार सात सय जनाको एक अर्ब ३५ करोड अपचलन भएको विभिन्न छानबिन समितिले देखाएका छन् । सूर्य दर्शन सहकारी ठगीका मुख्य योजनाकार मानिएका पूर्व अध्यक्ष एवं गोर्खा मिडियाका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, भूपेन्द्र राई, थानबहादुर बुढा, धिरजकुमार दास लगायत फरार छन् ।

यही मुद्दामा शिवबहादुर गुरुङ ‘महेन्द्र भोटे’, भविश्वर अर्याल, सहकारीका कोषाध्यक्ष कुमार रम्तेल, पूर्व उपाध्यक्ष कैलाशकुमार दर्लामी मगर र सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि थुनामा छन् ।

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित 0 Minutes 82 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।