
काठमाण्डौं असोज १७ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाइन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहान नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । काठमाडौंको हनुमानढोका दरबारमा रहेको दसैँ घरमा पनि वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको छ । बिहान ९ः१६ मिनेटको शुभ साइतमा दसैँ घरमा जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । रोजगारी,अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । दुर्गा पक्ष शुरु भृसंगै शक्ति स्वरुपा देवी दुर्गा भवानीको पूजा आराधना गर्न शक्तिपीठहरुमा दर्शनार्थीहरुको भिड लागेको छ ।



यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।