
काठमाण्डौ असोज १२ । काठमाण्डौ उपत्यकाका खोला नदीहरुमा उर्लिएको बाढीले वितण्डा मच्चाएको छ । भीषण वर्षापछि आएको बाढीपहिरोले काठमान्डौँ उपत्यकामा ठुलो भौतिक तथा मानवीय क्षति पुर्याएको छ । अविरल वर्षापछिको बाढीपहिरामा परी यो समाचार तयार पार्दासम्म काठमाडौँ उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार हालसम्म ललितपुरमा १८, काठमाडौँमा ११ र भक्तपुरमा पाँच जनाको मृत्यु भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेका अनुसार विपद्का घटनामा परी १७ जना बेपत्ता भएका छन् भने १७ जना घाइते भएका छन् । बाढीपहिरो तथा डुबानमा परेका एक हजार तीन सय १५ जनाको उद्धार गरिएको छ ।
अविरल वर्षापछिको बाढीले काठमान्डौँ ,ललितपुर र भक्तपुरका विभिन्न क्षेत्र डुवानमा परे। उपत्यकाका नदी तथा खोला किनारामा बस्नेहरु बढी मात्रामा प्रभावित भएका छन् । मुसलधारे पानी परेपछि एकाएक बढेको जल सतहले धेरै ठाउँका टोलवस्ती डुवानमा परेका छन् । बाढीपहिरोबाट काठमाडौँमा केही घरहरु भत्केका छन् भने ललितपुर र भक्तपुरका घरहरुमा क्षति पुगेको छ । काठमाडौँमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् ।
पानीको वहाव बढेका कारण उपत्यकाका करिडोरका प्राय सबै सडक विहानैदेखि बन्द भएका थिए । काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्ते लगायत खोलामा जलसतह बढेपछि करिडोरका सडकहरुमा पानी बगेका थिए र आवतजावत गर्न कठिनाई भएको थियो । काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर नयाँबाटो, ग्वार्को–इमाडोल सडक, परोपकार, सानेपा, कालोपुल, बल्खुपुल लगायतका सडक दिउसो ठप्प भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षासँगै काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेको छ । डुबानमा फसेकालाई नेपाली सेना,नेपाल प्रहरी र सशस्त्र प्रहरीका साथै स्थानीयले उद्धार गरेका थिए । कलंकी क्षेत्र पनि डुबानमा परेको थियो । कलंकी मालपोत क्षेत्र डुबानमा पर्दा सो क्षेत्रको जनजीवन प्रभावित बन्यो । त्यहाँको प्रहरी कार्यालयसमेत डुबानमा परेको थियो । बागमती, मनोहरा, विष्णुमति, गोदाबरी, हनुमन्ते र कर्मनासा लगायतका खोला नदीहरु उर्लिएका छन् । पहिरोका कारण विभिन्न नाका हुँदै काठमाडौँ भित्रने र बाहिरिने सवारीसाधन पनि चल्न सकेका छैनन् ।



अबिरल बर्षाका कारण ललितपुरको ग्वार्को चोक पनि डुवानमा परेको छ । कर्मनासा खोला उर्लिएर वस्तीमा पस्दा नयाँवस्ती क्षेत्र पूर्णरुपमा डुबानमा परेको थियो । यसैवीच नख्खु खोला बीच फसेका ६० जनाको सेनाले उध्दार गरेको छ । अविरल बर्षाका कारण ललितपुर महानगरपालिकाको सानो हात्तिवनमा पहिरो गएको छ । पहिरोले एउटा गाडी र केही मोटर साईकलमा समेत क्षति पुगेको छ । चार किरातहरुको कुल देवता समेत रहेको हात्तीवनस्थित मन्दीर पहिरोका कारण उच्च जोखीममा परेको हो । पहिरो संगै रुखहरु समेत ढलेर सडक अवरुद्ध भएको छ । यता नख्खु खोला छेउमा गाडीको बडी बनाउने कारखानामा काम गर्ने ४ मजदुरहरु अचानक खोला बढेपछी खोला बीचमै फसेका थिए । उनीहरुको उद्धार तत्कालै उद्धार हुन नसकेपनि स्थानीयले बगाएको अवस्थामा ३ जनाको उद्धार गरेका थिए । एकजना बालकको भने खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । खोला आसपास रहेका १ दर्जन भन्दा बढी घरमा फसेकाहरुको समेत टोलीले उद्धार गरेको सशस्त्र प्रहरी बलका डिएसपी रविन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।
विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० प्रहरी खटिइएको प्रहरीले जनाएको छ । यस्तै नेपाली सेनाले उपत्यका सहित दिनभरी देशव्यापी उद्धार राहतमा सुरक्षा फौज परिचालन गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्र प्रहरीले उपत्यकाका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका नागरिकको उद्धारका लागि २३ वटा याफ्टिङ बोट परिचालन गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।