
काठमाडौं, साउन १२ । गीष्मकालीन ओलम्पिक प्रतियोगिता २०२४ को फ्रान्सको राजधानी पेरिसमा भव्य समारोहबीच उद्घाटन गरिएको छ । पेरिस ओलम्पिक २०२४ को पेरिसस्थित आइफल टावर परिसमा भव्य आतिसबाजी र साङ्गीतिक कार्यक्रमकाबीच प्रतियोगिताको औपचारिक शुभारम्भ गरिएको हो ।
समारोहमा ओलम्पिकमा सहभागिता जनाउने सबै देशहरुको मार्चपास गराइएको थियो । मार्चपासमा नेपालको तर्फबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले राष्ट्रिय झण्डा बोकेर सहभागिता जनाएका छन् । ओलम्पिकमा यस पटक नेपालले विभिन्न ६ खेलमा सात जना खेलाडीहरुको सहभागिता गराएको छ ।



टेबल टेनिसबाट स्यान्टु र मनिताले छनोट चरण पार गरेर ओलम्पिकमा स्थान बनाए । अन्य खेलाडीमा ब्याडमिन्टनबाट प्रिन्स दाहाल, सुटिङका सुष्मिता नेपाल, पौडीका एलेक्स (एलेक्जेन्डर एस शाह) र डुवाना लामा तथा एथलेटिक्सकी सन्तोषी श्रेष्ठले पेरिसमा प्रतिस्पर्धा गर्ने छन् । प्रिन्स र सुष्मिता आमन्त्रित कोटामा तथा बाँकी खेलाडीले निर्धारित कोटामा खेल्न पाएका हुन् ।
यसैबीच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) ले पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली खेलाडीलाई उत्तर कोरियाली भनेर गलत परिचय गराएको छ । गलत परिचय गराएकोप्रति दक्षिण कोरियाले आपत्ति जनाएपछि आइओसीले माफी मागेको छ।
फ्रान्सको राजधानीमा आयोजित ओलम्पिकको उद्घाटनमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाको आधिकारिक नामले परिचय गराइएको थियो ।
“उद्घाटन समारोहका क्रममा दक्षिण कोरियाली टोलीको परिचय गराउँदा भएको गल्तीका लागि हामी माफी माग्छौँ“, आइओसीले बताएको छ ।
आइओसीको यस त्रुटिले दक्षिण कोरियामा अप्रसन्न प्रतिक्रियाहरू निम्त्याएको छ । “ सन् २०२४ पेरिस ओलम्पिकको उद्घाटन समारोहमा दक्षिण कोरियाली प्रतिनिधिमण्डललाई उत्तर कोरियाली टोलीको रूपमा प्रस्तुत गरिएकोमा खेद व्यक्त गर्दछौँ“, दक्षिण कोरियाको खेलकुद मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।
देशको उप–खेलकुद मन्त्री जाङ मि–रानले यस विषयमा छलफल गर्न आईओसी प्रमुख थोमस बाखसँग छलफल गर्ने बताउनुभएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय ओलम्पिक कमिटीले पनि पेरिस ओलम्पिक आयोजक समिति र आईओसीसँग भेट गरेर यस्तो गल्तीको पुनरावृत्ति रोक्न अनुरोध गर्ने र आफ्नो प्रतिनिधिमण्डलका प्रमुखको नाममा आधिकारिक विरोध पत्र पठाउने योजना बनाएको सियोलको खेल मन्त्रालयले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।