
काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले १० वर्षपछि टी-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्दैछ । आगामी जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा हुने आइसिसी टी-२० विश्वकप २०२४ मा भाग लिन नेपाली टोलीको एक समूह शनिबार राति अमेरिका प्रस्थान गरेको छ। अर्को एक समूह आइतबार अमेरिकातर्फ प्रस्थान गर्दैछ।नेपालले अमेरिकाको मायमीमा विश्वकपको अन्तिम तयारी यहिँ सातादेखि सुरू गर्नेछ । त्यहाँ तयारी गरेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्ट जाने कार्यक्रम छ।
सेन्ट भिसेन्टमा अभ्यास गरेपछि नेपाली टोली फेरि अमेरिका आउनेछ। विश्वकपका तयारीको लागी नेपालले २५ वटा टी-२० खेल खेलेको छ जसमा नेपालले १५ खेलमा जित निकाल्दा ११ खेलमा भने हार बेहोरेको छ।



विश्वकपको तयारी प्रयाप्त भएकोले विश्वकपमा नेपालको प्रदर्शन राम्रो हुने अपेक्षा गरिएको छ।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले आइसीसी टी-२० विश्वकप प्रतियोगिताका लागि क्रिकेट खेल्ने खेलाडीलाई सफलताका लागि शुभकामना दिनुभएको छ । राष्ट्रपति पौडेलले बेस्टइन्डिज र अमेरिकामा संयुक्त आयोजना हुन लागेको आइसीसी टी-२० विश्वकप क्रिकेट खेल्न जाने टोलीका सदस्यलाई सफलताको शुभकामना व्यक्त गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो । नेपाली क्रिकेट टोली त्यसतर्फ प्रस्थान गर्दै छ । टी-२० विश्वकप जेठ १९ गतेबाट सुरु हुँदैछ ।
विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनौट गरेको छ । नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।
टी–२० विश्वकपमा नेपाल समुह ‘डी’ मा रहेको छ । यस समुहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्डस रहेका छन् ।
विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग तथा जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।