२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

बागमती प्रदेश सरकारको बहुमत सङ्कटमा; आफ्ना सदस्यलाई मुख्यमन्त्रीले अपहरण गरी मन्त्री बनाएको हानपाको दाबी

पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाउनुभयो ।

काठमाडौं चैत १५ । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता यथावत् रहेको जनाएको छ । सो पार्टीका बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले प्रदेशको मन्त्रीमा शपथ लिएको एक दिनपछि शुक्रवार हेटौँडामा हाम्रो नेपाली पार्टीले पत्रकार सम्मेलन गरी सालिकराम जमरकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता निरन्तर रहेको जनाएको हो ।

प्रदेश सरकारको कामप्रति असन्तुष्टि जनाउँदै हाम्रो नेपाली पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय यसअघि गरेको थियो । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष इन्जिनियर अनन्तराज घिमिरेले पार्टीका प्रदेश सभा सदस्य बज्राचार्यलाई राजनीतिक अपहरण गरी मन्त्री बनाइएको आरोप लगाउनुभयो ।

आफैँ उपस्थित केन्द्रीय समितिको निर्णयविपरीत पार्टीका प्रदेश सभा सदस्य बज्राचार्य मन्त्री बन्नुभएको छ जुन पार्टीलाई स्वीकार्य छैन, अध्यक्ष घिमिरेले भन्नुभयो, सत्तारुढ दलहरूबाट राजनीतिक अपहरण गरी मन्त्री बनाउने काम भएको छ यसले राजनीतिमा विकृति सिर्जना गरेको छ ।

पार्टी प्रवक्ता रोहन कार्कीले बागमती प्रदेशमा सत्तारुढ दलबाट फोहोरी खेल भएको भन्दै जमरकट्टेल नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र पार्टी निर्णयविपरीत गएमा कारबाही गरिने बताउनुभयो ।

मङ्गलबार सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको र अब मन्त्रीमा नजाने बताउनुभएका हाम्रो नेपाली पार्टीका नेता बज्राचार्यले दुई दिनमा नै आफ्नो बोली फेर्दै मन्त्री पदमा शपथ लिन पुग्नुभएको थियो ।

हाम्रो नेपाली पार्टीले मङ्गलबार इमेलमार्फत सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको पत्र पठाएको बागमती प्रदेशको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

२०८० चैत्र १६, शुक्रबार प्रकाशित 0 Minutes 84 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।