
काठमाडौं कार्तिक ६ । घरेलु मैदानमा जारी त्रिदेशीय टि-२० अन्तर्राष्टिय क्रिकेट शृङ्खलाको लिग चरणमा शतप्रतिशत नतिजा सहित नेपाल फाइनलमा पुगेको छ । मुलपानी क्रिकेट मैदानमा आज भएको युएइसंगको दोस्रो खेलमा नेपाल पाँच विकेटले विजयी भएङ्को हो । युएईले जितका लागि दिएको एक सय ६५ रनको लक्ष्य नेपालले १९ दशमलव दुई ओभरमा पाँच विकेटको क्षतिमा चार बल बाँकी छदैं पूरा गर्यो ।
नेपालको जितमा ओपनर असिफ शेखले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै कप्तान रोहितकुमार पौडेलले ४७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले अविजित रहदै ४० रन जोडे । नेपालले सुरुवाती तीन ओभरमै ओपनर कुशल भुर्तेल, सोमपाल कामी र कुशल मल्ललाई गुमाएको थियो ।



तर कप्तान पौडेल र आसिफ शेखले ९९ रनको उत्कृष्ट साझेदारी गर्दै खेलमा फर्कियो ।
यूएईका मोहम्मद जवादुल्लाहले दुई विकेट लिए भने अकिफ राजा र जहूर खानले समान एक/एक विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६४ रनको योगफल बनाएको थियो ।
उसका लागि बसिल हमिद र वृत्य अरविन्दले समान ४५ रनको योगदान दिए । त्यस्तै आसिफ खानले १८ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र अभिनास बोहोराले समान दुई-दुई विकेट लिए भने करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए ।
नेपालले यसअघि भएको पहिलो खेलमा युएईलाई सात विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो ।
त्यस्तै नेपालले तेस्रो खेलमा हङकङलाई ७९ रनले पराजित गरेको थियो । अब नेपालले यूएई र हङकङमध्ये एकसँग फाइनल खेल्नेछ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।