
काठमाडौं कार्तिक ५ । इजरायलमाथि हमासले गरेको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चार जनाको शव नेपाल ल्याइएको छ । फ्लाई दुबईको विमानमार्फत उनीहरुको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्री एनपी साउदका प्रेस संयोजक केशव साउदले जानकारी दिनुभयो ।
उहाँका अनुसार हालसम्म दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको हो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो ।



चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं ल्याइएका नेपाली विद्यार्थीको शवमा श्रद्धाञ्जली दिन नेपालका लागि इजरायलका राजदूत हनान गोडेर त्रिभुवा विमानस्थल पुग्नु भएको थियो । काठमान्डौ ल्याइएको शव नेपाली सेनाको स्काइ ट्रकबाट आजै कैलालीको धनगढी पुर्याइएको छ ।
बाँकी छ जनाको शव ल्याउन कुटनीतिक पहल जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत उनीहरु इजरायल गएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।