२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

पशुपति जलहरी काण्डमा एमालेलाई सुनपानी; विकास कोषका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ, १४ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव डा प्रदीप ढकाल र तत्कालीन कोषाध्यक्ष एवम् हालका सदस्यसचिव डा मिलनकुमार थापा समेत तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पशुपतिनाथ मन्दिरमा रहेको शिवलिङ्गमा चढाइएको सुनको जलहरीमा प्रयोग गरिएकोसुनमा भ्रष्टाचारको आरोपमा उनीहरुलाई मुद्दा लगाइएको हो ।
तत्कालिन नेकपा एमालेको बहुमत सरकार भएका बेलामा प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशन र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनामा राज्यकोषबाट ३० करोड रुपैंया निकासा गरेर जलहरी बनाउनका लागि कोषले नेपाल राष्ट्रबैंकसँग १०३ किलो ७७३.१ ग्राम सुन किनेको थियो ।
तर जलहरी बनाउने क्रममा खरीद गरिएकै परिमाणमा सुनको प्रयोग नभएको भन्दै महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा वेरुजु औल्याइए पछि त्यसैको आधारमा अख्तियारमा उजुरी परेको थियो ।
प्रारम्भिक छानवीनमा नै अख्तियारले जलहरीमा भ्रष्टाचार भएको बताएको थियो ।

सोही विषयमा वर्तमान सत्तागठबन्धका एक सांसदले प्रतिनिधिसभाको बैठकमा कुरा उठाएर छानवीनको माग गरेपछि प्रमुख प्रतिपक्षि एमालेले त्यसको विरोध गर्दै झण्डै एक महिना सदन अवरुद्ध गराएको थियो ।
पछि जलहरी निकालेर तौल लिने विषयमा कुरा मिलेपछि सदन चलेको थियो ।

तर जलहरी निर्माणमा १०१ किलो ४८.५ ग्राम मात्र सुन प्रयोग भएको पाइएको अख्तियारले जनाएको छ । राष्ट्र बैंकबाट किनेको १०३ किलो ७७३.१ ग्राम सुनमध्ये जलहरीमा प्रयोग भएको १०१ किलो ४८.५ ग्राम सुन घटाउँदा १ किलो ५६५.६ ग्राम सुनको फरक देखिएको थियो ।

राष्ट्र बैंकले प्रचलनमा ल्याएको जर्ती मापदण्ड अनुसार ०.०७२ प्रतिशतले हुन आउने सुन घटाउँदा बाँकी रहेको १ किलो ४९१.७१८ ग्राम सुन हिनामिना भएको अख्तियारको ठहर छ ।

सार्वजनिक सम्पत्तिमा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

२०८० आश्विन १४, आईतवार प्रकाशित 0 Minutes 150 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।