२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

सोमबार सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाउने प्रहरीको तयारी

काठमाडौ जेठ ७ । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौँ नागरिकको करोडौँ रकम ठगी प्रकरणको आफ्नो अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउने तयारी गरेको छ ।

प्रहरीले ठगी र सङ्गठित अपराधमा १६ जना व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । आजमात्रै उनीहरूलाई तीन दिनको म्याद लिएर प्रहरीले हिरासतमा राखेको छ । संलग्नको आरोप लागेका केही भने फरार छन् । परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले कानूनले आकर्षित गर्ने सबै दफाको माग दाबीसहित अभियोजन गर्ने गरी प्रतिवेदन दिने बताउनुभयो ।

यस घटनामा एक सय छजना पीडितबाट २३ करोड २५ लाख ठगी भएको भनी उजुरी परेको छ । प्रहरी स्रोतका अनुसार ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते) तथा केहीलाई देशद्रोहको पनि मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन जानसक्ने बताइएको छ ।

उक्त घटनामा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भूटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोहह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा नीरजसहितका व्यत्ति फरार छन् ।

यसैबीचमा शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।

उनीहरूलाई आइतबार जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतले उनीहरूलाई तीन दिन हिरासतमा राख्न अनुमति प्रदान गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उक्त घटनामा मुछिएकाहरूमाथि अनुसन्धान थालेको आज ५६औँ दिन पूरा भएको छ । ६० दिनभित्रमा अभियोजन दर्ता गरिसक्नुपर्ने कानूनी प्रावधान छ ।

पक्राउ परेकाहरूमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले शरणार्थी प्रकरणको घटनामा ठगी र सङ्गठित अपराधमा अनुसन्धान गरिरहेको छ । उनीहरूविरुद्ध एक सय छजनाले २३ करोड बढी ठगिएको भन्दै जाहेरी दिएका छन् ।

२०८० जेष्ठ ७, आईतवार प्रकाशित 0 Minutes 88 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।