२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

मदन-आश्रित दुर्घटना ३० बर्षसम्म पनि रहस्यकै गर्भमा

काठमाडौं जेठ ३ । जनताको बहुदलीय जनवाद जबजको जगमा नेकपा एमालेले आफ्नो राजनीतिक विरासत अगाडि बढाउदै आएको छ । पार्टीको पाँचौँ राष्ट्रिय महाधिवेशनबाट जबजलाई पारित गर्दै सिद्धान्त बनाएको एमालेको त्यसयताका सम्पूर्ण दलीय दस्तावेज र बहसहरुमा जबज महत्वपूर्ण हिस्सा बन्दै आएको छ । पार्टीका तत्कालिन महासचिव जननेता मदन भण्डारीले प्रतिपादन गर्नुभएको जनताको बहुदलीय जनवाद जबजलाई नेकपा एमालेले पार्टीको मूल सिद्धान्त बनाएको छ । तत्कालिन महासचिव भण्डारीले छोटो अवधिमै नेपालको कम्युनिष्ट आन्दोलनलाई गति दिनुका साथै संसदीय राजनीतिमा तत्कालिन एमालेलाई लोकप्रिय बनाउनु भएको थियो । यसैगरी पार्टीका नीतिलाई व्यवहारमा लागू गर्न सफल नेताका रूपमा जननेता भण्डारीलाई स्मरण गरिन्छ । जननेता भण्डारीले समकालीन राजनीतिमा माक्र्सवाद र लेनिनवाद सिद्धान्तलाई तत्कालीन परिस्थितिअनुसार वैज्ञानिक ढङ्गबाट बुझेर त्यस अनुरुप लागू गर्नुभएको थियो । त्यसैले उहाँलाई माक्र्सवाद दर्शनलाई जनताको बहुदलीय जनवाद जबजमा परिणत गर्दै व्यवहारमा प्रयोग गर्न सक्ने सफल दार्शनिक नेताका रुपमा लिइन्छ । त्यस्तै आश्रितलाई कुशल संगठकका रुपमा स्मरण गरिन्छ । कम्यूनिष्ट राजनीतिमा सक्रिय रहदै गर्दा भण्डारी र तत्कालिन एमाले सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएको थियो ।

यसैवीच  मदन-आश्रितको ३०औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा दिवंगत नेताहरुले पुर्‍याउनु भएको योगदानको स्मरण गरियो । नेकपा एमालेले मदननगर बल्खुमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुले स्वर्गीय भण्डारीले नेपाली माटो सुहाउदो जवजको सिद्धान्त प्रतिपादन गर्नु भएको स्मरण गर्नुभयो ।

स्मृति दिवसकै अवसरमा आयोजित अर्को कार्यक्रममा नेकपा एकीकृत समाजबादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले नेपाल र नेपाली जनताको हितमा लागेका मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय मृत्यको घटनाले राष्ट्र र राष्ट्रियतामा ठूलो क्षति पुगेको बताउनुभयो । स्वर्गीय मदन भण्डारी र जीवराज आश्रित नेपाली राजनीतिका महान योद्धा भएको उल्लेख गर्दै मुलुकमा संकट आइपर्दा उहाँहरुको अभाव महसुस हुने भनाई नेताहरुको छ ।

यसै अवसरमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालिन नेकपा एमालेका महासचिव तथा उहाँका श्रीमान् मदन भण्डारीको सालिकमा मल्यार्पण गर्नुभयो । काठमाडौंको कोटेश्वरमा रहेको मदन स्मृति बाटिकामा निर्मित मदन भण्डारीको सालिकमा पूर्व राष्ट्रपति भण्डारीले  माल्यार्पण गर्नुभएको हो । सोही अवसरमा पूर्व राष्ट्रपति भण्डारीले काठमाडौंको तीनकुनेमा रहेको मदन स्मृति सामुदायिक पार्कमा वृक्षारोपण समेत गर्नुभयो । पूर्व राष्ट्रपति भण्डारीले कोटेश्वरदेखि तीनकुनेसम्मको क्षेत्रमा वागमती नदी किनारमा निर्माण गरिएको मदन भण्डारी स्मृति सामुदायिक पार्कको अवलोकन समेत गर्नुभयो ।

मदन-आश्रित दुर्घटनाको ३० बर्षसम्म पनि सत्यतथ्यमा पुग्न नसकी अझै रहस्याकै रुपमा रहिरहेको छ । मदन-आश्रित दुर्घटनाका एकामात्र साछी चालक अमर लामाको दासढुङ्गा घटनाको दश वर्षपछि २०६० साउन १२ गते हत्या भएपछि यो घटना अझै रहस्यमय बनेको छ । यसवीचमा व्यवस्था मात्र फेरिएन केयनपटक सरकार पनि फेरिए। नेकपा एमालेले समेत पटक पटक सरकारको नेतृत्व गर्‍यो । तर मदन-आश्रित हत्याकाण्डको सत्यतथ्य अहिलेसम्म सार्वजनिक हुन नसक्नुलाई विडम्वना कै रुपमा लिनु पर्ने हुन्छ ।

२०८० जेष्ठ ३, बुधबार प्रकाशित 1 Minute 108 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।