२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लियो; विश्वासको मत लिनु नपर्ने: सत्तागठबन्धन

काठमाडौं बैशाख २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार गठनमा विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको छ । रास्पवाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बैठक पछि पार्टीका सभापति रवि लामिछानेले जानकारी दिनुभयो ।

यसैबीचमा बसेको सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भन्नुभयो, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।”

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव माग्नुभएको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिनुभएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी हुनुभएको थियो । यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी हुनुहुन्छ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता हुनुभएको थियो ।

२०८० बैशाख २३, शनिबार प्रकाशित 0 Minutes 114 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।