२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

नक्कली शरणार्थी प्रकरणमा रकम असुल गरेको भन्दै एक सय छ जनाको उजुरी

काठमाडौं बैशाख २१ । नक्कली शरर्णार्थी बनाएर रकम असुली प्रकरणमा आरोपित पूर्व ऊर्जामन्त्री समेत रहनुभएका एमालेका सचिव टोपबहादुर रायमाझीको खोजी भैरहेको प्रहरीले जनाएको छ । पक्राउ पूर्जी जारी भएपछि प्रहरीले रायमाझीको खोजी गरेको हो ।

उहाँको नाममा बुधबार पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएका अर्घाखाँचीमा आयोजित एक कार्यक्रममा सहभागी रायमाझी गएराती भैरहवाबाट काठमाण्डौ फर्कने तयारीमा रहेपनि त्यसपछि सम्पर्कमा नरहेको प्रहरीको भनाइ छ ।

तर उहाँसंगै पक्राउ पुर्जी जारी भएका उहाँका छोरा सन्दीप रायमाझीलाई बुधबारै पक्राउ गरी काठमाण्डौ ल्याएर आजै अदालतमा उपस्थित गराइएको छ ।

अदालतले सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौँले वहालवाला सचिव टेकनारायण पाण्डेलाई पनि ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो । नक्कली शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा प्रहरीले हालसम्म आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याएको छ । अझै केही व्यक्तिमाथि पक्राउ पुर्जी जारी भएको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच नक्कली शरर्णार्थी प्रकरणमा रकम असुल गरेको भन्दै हालसम्म एक सय छ जनाले २० वटा उजुरी दिएका छन् । २३ करोड २५ लाख रुपैयाँ ठगी भएको उजुरी जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उजुरीमा उल्लेख भएका व्यक्तिमाथि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

नक्कली शरर्णार्थी बनाउने गिरोहले २०७७ सालदेखि नक्कली कागजात बनाइ ठगी अभियान चलाएको अनुसन्धानमा खुलेको छ । गत वर्षको जेठमा अपराध अनुसन्धान कार्यालयमा पहिलो उजुरी परेपछि प्रहरी अनुसन्धान अघि बढेको हो ।

यसक्रममा घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टङ्क गुरुङ झण्डै १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसपछि थप २ जना पक्राउ परे र पक्राउ परेकाहरुकै बयानका आधारमा तत्कालिन गृह सचिव पाण्डे लगायत उच्च राजनीतिक नेतृत्वको नाम बाहिर आएको हो ।

गत चैत सम्म अनुसन्धान र आरोपीलाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसरलाई पक्राउ परेका आरोपीसहितको अनुसन्धान फाइल हस्तान्तरण गरेपछि हाईप्रोफाइलहरु पक्राउ पर्न थालेका हुन् । आरोपितरुले विचौलियाकारुपमा काम गरेकाहरुबाट रकम लिएको प्रमाण प्रहरीले फेला पारेको र अन्य हाइप्रोफाइल समेत प्रहरीको अनुसन्धानको घेरामा रहेका छन् ।

नक्कली शरर्णार्थी बनाउने गिरोहले गृह मन्त्रालयका नाममा सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टसमेत बनाएको भेटिएको पाइएको छ ।

यसैगरी गिरोहले आफ्ना सम्पर्कका र चिनजानका व्यक्तिलाई प्रयोग गरी उनीहरुका आफन्तलाई समेत शरणार्थीका रुपमा नाम दर्ताका लागि फारम भर्न लगाएको पाइएको छ । शरणार्थी फारम भर्नेबाट १५ देखि २० लाख रुपैयाँ सम्म असुलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

प्रहरीमा उजुरी दिएकाले कहिले शरणार्थी शिविर अनुगमन त कहिले बायोमेट्रिकको वहानामा मोरङको पथरी, बेलडाँगी, विराटनगर, सौराहा, काठमाडौँलगायत स्थानमा बोलाउने गरेको जाहेरीमा उल्लेख गरेका छन् । गिरोहले काम नभएमा रकम फिर्ता गर्ने भन्दै  आठ करोडरुपैयाँ बराबरको चेक समेत दिएको उजुरी दिनेहरुको भनाई छ । गिरोहले रकम सङ्कलनका लागि विभिन्न व्यक्तिको बैंक खाता प्रयोग गर्ने गरेका थिए ।।

२०८० बैशाख २२, शुक्रबार प्रकाशित 0 Minutes 250 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।