
काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई सहित उक्त प्रकरणमा विचौलियाको भुमिकाका रहेकाहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ पुर्जी जारी गरेको पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी भने सम्पर्क विहिन छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरेको छ ।



सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट पक्राउ गरेको हो । उनलाई आज काठमाण्डौ ल्याइँएको र तिन दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट म्याद पाएको प्रहरीले जनाएको छ ।
ठगी धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सागर राई र सन्देश शर्मालाई पक्राउ गरेको थियो । उनीहरुकै बयानका आधारमा प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । लगत्तै राईका छोरा निरज फरार भएका छन् ।
बहालवाला सचिव पाण्डेलाई प्रहरीले हिजो पक्राउ गरी अदालतमा उपस्थित गराएर तीन दिन थुनामा राख्न म्याद लिएको छ । पक्राउ पुर्जी जारी भएका तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक फरार छन् ।
यो गिरोहले झण्डै ९ सय जनालाई ठगी गरेको र प्रतिव्यक्ति १० लाखदेखि ५० लाख रुपैयाँसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक आकलन छ । ठगी र सङ्गठित अपराध कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।