२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

द्वन्द्व टार्ने प्रतिवद्धतासहित बाइडेन र सीबीचको शिखर वार्ता सम्पन्न

काठमाडौं, कार्तिक २९ । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच इन्डोनेसियाको बालीमा तीन घण्टा लामो ऐतिहासिक शिखर वाता द्वन्द्व टार्ने प्रतिवद्धतासहित सम्पन्न भएको छ ।

ताइवान र अन्य विषयमा महिनौंदेखि जारी तनावपछि जी–ट्वन्टी शिखर सम्मेलनअघि रिसोर्ट टापुमा लामो समयदेखि प्रतिक्षा गरिएको बैठक सुरु गर्नुअघि सी र बाइडेनले अमेरिका र चिनियाँ झण्डामुनि उभिएर हात मिलाउनुभएको थियो ।

बेइजिङ र वासिङ्टनले विश्वलाई ‘हाम्रा मतभेदलाई व्यवस्थापन गर्न, प्रतिस्पर्धालाई द्वन्द्वमा परिणत हुनबाट रोक्न सक्छन्’ भनेर देखाउन ‘जिम्मेवारी साझा’ गरेको बाइडेनले बताउनुभएको छ ।

पछिल्ला केही दशकमा चीनका सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित चिनियाँ राष्ट्रपति सीले तेस्रो कार्यकालका लागि निर्बाचित हुनुभएपछि भएको अमेरिकी राष्ट्रपतिसँगको पहिलो प्रत्यक्ष भेटमा बाइडेनसलाई विश्व ‘दोबाटोमा आइपुगेको’ बताउनुभएको छ ।

“चीन र संयुक्त राज्य अमेरिकाले सम्बन्धलाई राम्रोसँग सम्हाल्नेछन् भन्ने विश्वले अपेक्षा गरेको छ,” चिनियाँ राष्ट्रपति सीले बताउनुभयो ।

उत्साहजनक सार्वजनिक भनाइहरूको बावजुद, दुवै देशहरू एक अर्काप्रति बढ्दो शङ्का गरिरहेका छन्, संयुक्त राज्य अमेरिकालाई चीनले ताइवानकब्जा गर्ने समयसीमा बढाएको भन्ने डर छ ।

अमेरिकी अधिकारीहरूले बैठकअघि बाइडेनले चीनसँगको सम्बन्धमा ‘गार्डरेल’ स्थापना गर्ने र विश्वका दुई ठूला अर्थतन्त्रलाई द्वन्द्वमा धकेल्न सक्ने ‘रेड लाइन’ बाट कसरी बच्न सकिन्छ भन्नेबारे आकलन गर्ने आशा व्यक्त गरेका थिए ।

सबैभन्दा संवेदनशील विषय ताइवान हो, जुन चीनको तर स्वशासित क्षेत्र हो ।

संयुक्त राज्य अमेरिकाले ताइवानलाई समर्थन बढाइरहेको छ भने चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिने धम्की दिइरहेको छ । गत अगस्टमा अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले ताइपेइको भ्रमण गरेपछि चीनले अभूतपूर्व सैन्य अभ्यास गरेको थियो ।

सीसँगको वार्ताको पूर्वसन्ध्यामा बाइडेनले कम्बोडियामा दक्षिणपूर्वी एशियाली शिखर सम्मेलनका क्रममा जापानी प्रधानमन्त्री फुमियो किशिदा र दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलसँग भेटवार्ता गर्नुभएको थियो ।

प्योङयाङले आफ्नो सातौँ आणविक परीक्षण गर्ने डर बढेपछि बाइडेनले चीनलाई सहयोगी उत्तर कोरियामाथि लगाम लगाउन दबाब दिने अपेक्षा गरिएको छ ।

२०७९ कार्तिक २९, मंगलवार प्रकाशित 0 Minutes 135 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।