२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

सबै खेलमा पराजित हुँदै एएफसी यू-१७ छनोटबाट बाहिरियो नेपाल

काठमाडौं, असोज २३ । भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोट खेलमा नेपाल चाइनिज ताइपेईसँग पराजित भएको छ ।

भियतनाममा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल चाइनिज ताइपेईसँग ४–२ गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपाल जितविहीन बनेको छ । नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको थियो । दोस्रो खेलमा आयोजक भियतनामसँग ५–० गोलअन्तरले पराजित भएको थियो । यस खेलसँगै नेपाल र चाइनिज ताइपेई प्रतियोगिताबाट बाहिरिसकेको छ ।

चाइनिज ताइपेईको जितमा लिन हाइ चेङले दुई गोल गरे भने ताई यान याओ र लु यी टिङले एक–एक गोल गरे । नेपालका लागि भने कप्तान प्रशान्त लक्षम र धनसिंह विकले एक–एक गोल फर्काए । खेलको तेस्रो मिनेटमा लिनले गोल गर्दै चाइनिज ताइपेईलाई सुरुआती अग्रता दिलाए । त्यसैगरी खेलको १०औँ मिनेटमा प्रशान्तले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा ल्याए ।

खेलको २८औँ मिनेटमा यानले गोल गर्दै चाइनिज ताइपेईको अग्रता २–१ को बनाए भने खेलको ६१औँ मिनेटमा धनसिंहले गोल गर्दै नेपाललाई २–२ गोलको बराबरीमा ल्याए ।

खेलको ७८औँ मिनेटमा दीपक थापा मगरले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा नेपाल १० खेलाडीमा सीमित बनेको थियो । खेलको ८० औँ मिनेटमा लुले गोल गर्दै चाइनिज ताइपेईलाई ३–२ को अग्रता दिलाए । त्यसपछि खेलको ८९ औँ मिनेटमा लिनले व्यक्तिगत दोस्रो गोल गर्दै चाइनिज ताइपेईलाई ४–२ को जित दिलाए ।

यस जितसँगै चाइनिज ताइपेईको यो पहिलो जित भएको छ । समूह ‘एफ’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रह्यो भने चाइनिज ताइपेई तीन अङ्क जोडेर तेस्रो स्थानमा रह्यो । भियतनाम छ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । थाइल्याण्ड छ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । भियतनाम र थाइल्याण्डबीचको विजेताले एसियन कपमा स्थान बनाउनेछ ।

२०७९ आश्विन २३, आईतवार प्रकाशित 0 Minutes 140 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।