२०८२ असार २४ मंगलवार
  • काठमाडौँ

एसपिपीमा नेपाल आवद्ध नहुने सेनाको स्पष्टोक्ति

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले ‘स्टेट पार्टनरसीप प्रोग्राम’ (एसपिपी) मा नेपाल आबद्ध हुन नसक्ने स्पष्ट गर्नुभएको छ ।

उहाँले सुरुमा नेपाली सेनाले गोरखा भूकम्पका बेला विपद्मा मानवीय र गैरसैनिक सहयोगका लागि सरकारको स्वीकृतिमा पत्राचार गरेको र सहयोग पनि लिएको तर पछि सन् २०१९ पछि एसपिपी ‘इण्डो प्यासिफिक रणनीति’को अङ्ग हुने भनिएपछि यसमाथि पुनर्विचार गर्न नेपाल सरकारलाई पत्राचार गरेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उहाँले केही दिनअघि नेपाल भ्रमणमा आउनुभएका अमेरिकी सैनिकका एशिया प्यासिफिक प्रमुखसँगको भेटमा पनि आफूहरु एसपिपीमा आबद्ध हुन नसक्ने स्पष्ट कुरा राखेको जानकारी दिनुभयो ।

उहाँले सामाजिक सञ्जाल र केही मिडियामा देखिएको नेपालले सम्झौता गर्न लागेको भनी सार्वजनिक एसपिपीको १० बँुदे पत्र पूरै गलत भएको बताउनुभयो । सो अवसरमा प्रधानसेनापति शर्माले भोलि असार ४ गतेदेखि आफूले गर्न लागेको लेबनान, सिरिया र अमेरिकाको भ्रमणका सम्बन्धमा समितिलाई जानकारी गराउनुभएको थियो ।

साथै उहाँले भ्रमणका क्रममा आफ्ना तर्फबाट कुनै सम्झौता नहुनेसमेत स्पष्ट पार्नुभयो । उहाँले नेपाली सेना मुलुकको परराष्ट्र नीति र जनहितका आधारमा मात्र सञ्चालन हुने पनि सो समितिमा स्पष्ट गर्नुभयो ।

२०७९ असार ३, शुक्रबार प्रकाशित 0 Minutes 162 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।