२०८२ जेष्ठ ४ शनिबार
  • काठमाडौँ

नायक शाह थुनामुक्त भएनन्

कास्की । उच्च अदालत पोखराले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने थुनछेक आदेशविरुद्ध उच्च अदालतमा शाहको तर्फबाट परेको निवेदनमा उच्चले सुनुवाइ गर्दै जिल्ला अदालतकै आदेशलाई सदर गर्ने फैसला गरेको हो ।

न्यायाधीश उज्ज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको फैसलालाई सदर गरेको उच्च अदालत पोखराका उपरजिष्ट्रार एवं सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रतिवादी पल शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने गरी तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतबाट भएको आदेश बेरितको नदेखिँदा परिर्वतन गरिरहनु परेन ।”

अभिनेता शाह एक नाबालिग बलात्कार मुद्दामा तीन महिनादेखि जिल्ला कारागार तनहुँको थुनामा हुनुहुन्छ । कारागार चलान गर्ने तनहुँ जिल्ला अदालतको फैसलाविरुद्ध शाहका वकिलले उच्च अदालतमा निवेदन दिनुभएको थियो । शाहलाई साधारण तारेखमा रिहा गर्नुपर्ने माग उहाँहरुको थियो ।

उच्च अदालतमा सुनुवाइमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, अधिवक्ता भानुभक्त सुवेदी, माधव घिमिरे, मिलनध्वज शाही र जगदीशचन्द्र पाण्डेले बहस गर्नुभएको थियो ।

यसैगरी सरकारका तर्फबाट उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता ईश्वरी ढकाल र उच्च सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता अमृत सुवेदीले बहस गर्नुभएको थियो ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।