२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

साना भएपनि जनताको पक्षमा काम गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पक्षमा काम गर्न स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभएको छ । ठूला योजना भन्दा पनि लोकप्रिय तथा जनतालाई प्रत्यक्ष प्रभाव पार्ने साना योजनाहरुको इमान्दारीपूर्ण कार्यन्वयनका लागि स्थानीय निकायले काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको सुझाव छ ।  वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट रुकुमपश्चिममा निर्वाचित जनप्रतिनिधिसँग अन्तर्क्रियाका क्रममा अर्थमन्त्री शर्माले पालिकाभित्रका स्थानीयलाई ठूला कामको सपना नदेखाउन आग्रह गर्नुभयो ।

“तपाईहरुले स्थानीय जनतालाई ठूला काम गर्ने भनेर सपना नबाँड्नुस् । त्यस्ता काम गर्नेतिर पनि नलाग्नुस्”, उहाँले भन्नुभयो, “स्थानीय जनतालाई ससाना काम गरेरै खुसी बनाउनुस् । स्थानीयको दैनिकीसँग जोडिएको आवश्यकता पूरा गरेर सबैको मन जित्ने काम गर्नुस् ।”

उहाँले स्थानीयको आवश्यकताका आधारमा पहिचान भएका ठूला परियोजना प्रदेश र सङ्घले बनाउने पनि जानकारी दिनुभयो । पालिका तथा वडा कार्यालय आउने स्थानीयलाई कामको सहजीकरण गर्न छुट्टै कर्मचारीको व्यवस्था गर्न पनि उहाँले निर्देशन दिनुभयो ।

“कार्यालयमा सेवाग्राही आउनासाथ नमस्ते गर्दै स्वागत गर्न एउटा कर्मचारी राख्नुस् । ती कर्मचारीलाई सेवाग्राही के कामका लागि आएको हो, त्यो काम तुरुन्त गराउन सहजीकरण गर्न लगाउनुस् । तपाईहरु (जनप्रनिधि) पनि नमस्ते खाएर बस्ने होइन, विकास निर्माणको कामको निरन्तर अनुगमन गर्नुस् ।”

सङ्घ र प्रदेशले बनाएका परियोजनाको निरन्तर अनुगमन, मूल्याङ्कन र खबरदारी गर्ने काम स्थानीय तहको भएकाले त्यस्तो जिम्मेवारी पूरा गर्न उहाँले निर्देशन दिनुभयो ।

त्यस्तै प्रत्येक हप्ता जनताकाबीच गएर अन्तक्र्रिया, भेटघाट र सामिप्यता बढाउन उहाँले सुझाव दिनुभयो ।

मन्त्री शर्माले स्थानीयस्तरका बारेमा पर्याप्त ज्ञान राख्न, वडा सदस्यलाई विभिन्न समिति बनाई जिम्मेवारी दिन, विकास–योजनाका बारेमा जिल्लास्तरका कर्मचारीसँग छलफल गर्न, जनप्र्रतिनिधिलाई नैतिक आचरणबारे प्रशिक्षण दिन, दुई वा सोभन्दा बढी पालिकास्तरमा समन्वय गरी काम गर्नुपर्नेलगायतका सुझाव दिनुभएको थियो ।

छलफलमा जनप्रतिनिधिले बजेटको पर्याप्तता, स्थानीय बासिन्दाको आवश्यकतालगायतका बारेमा जानकारी गराएका थिए ।

२०७९ जेष्ठ २१, शनिबार प्रकाशित 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।