
नेपालगञ्ज । नेपालगञ्जको धम्बोझी चोकमा बिहीबार विहानै स्वर्गीय राजा वीरेन्द्रको शालिक स्थापना गर्ने विषयमा प्रहरी र शालिक राख्नेबीच झडप भएको छ ।
राजा समर्थित नेपालगञ्जका युवाले एकाविहानै चोकमा शालिक स्थापना गरेपछि प्रहरीले हटाउन खोज्दा प्रहरीमाथि चारैतिरबाट ढुंगा प्रहार गरिएको थियो ।



ढुंगा प्रहारपछि प्रहरीले चार राउण्ड हवाई फायर गरेर भीड तितरवितर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सो क्रममा ढुंगा लागेर करिब १५ जना प्रहरी सामान्य घाइते भएको, स्थापना गरिएको शालिकलाई हटाइएको तथा केहीलाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
धम्बोझी चोकमा शालिक राखेको एक घण्टा बित्न नपाउँदै स्थानीय प्रहरी, प्रशासनले हटाउन खोज्दा झडप भएको उहाँले बताउनुभयो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले प्रशासनको अनुमति विना केही युवाले धम्बोझी चोकमा शालिक राखेको र त्यसको केही समयमै प्रहरीले शालिक हटाएको जनाउँदै अहिले अवस्था नियन्त्रणमा रहेको बताउनुभयो ।
यसअघि केही महिना पहिले नेपालगञ्जको त्रिभुवन चोकमा पनि अनुमति विना केही युवाले राजा त्रिभुवनको शालिक स्थापना गरेका थिए । त्यति बेला प्रहरी प्रशासनले कुनै एक्सन लिएको थिएन ।
वीरेन्द्र चोकमा यसअघि पनि शालिक स्थापनाको विषयमा पटक पटक राजावादी समर्थक र सुरक्षाकर्मीबीच झडप हुँदै आएको छ । चोकमा रहेको पुर्व राजाको शालिक जनआन्दोलन सकिएपछि तत्कालिन माओवादी समर्थक युवा विद्यार्थीहरुले तोडफोड गरेपछि पटक पटक शालिक राख्ने र हटाउने विषयमा विवाद रहँदै आएको छ । राप्रपाका सह महामन्त्री ऋषिराज देवकोटाले शालिक हटाउने कार्यको विरोध गर्दै संयमता अपनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको बताउनुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले धम्बोझी चौकमा भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै शहीद सेतु विकको शालिकमा तोडफोड हुनु निन्दनीय भएको बताउनुभयो । उहाँले सबैपक्षसँग संवाद गरेर अघि बढ्ने बताउनुभयो ।
सो घटनापछि नेपालगञ्जको विपी चोक, गणेशमान चोक र पुष्पलाल चोकमा राखिएका शालिकको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।