२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

स्वतन्त्र उम्मेदवारको जीत सहज-अफ्ठ्यारो छ अबको बाटो

राजनीतिक रुपले महत्वपूर्ण अर्थ राख्ने र संघीय राजधानी समेत रहेको काठमाण्डौ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निवार्चित हुनुभएको छ । परिणामको औपचारिक पुष्टि हुन भने बाँकी छ । साह निर्वाचित हुँदा हाइप्रोफाइलका दुई जना उम्मेदवार सृजना श्रेष्ठ र केशव स्थापितले पराजय भोग्नुपर्‍यो । अर्कोतर्फ ११ उपमहानगरपालिका मध्ये ३ वटामा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भए । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित हुँदा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका निवर्तमान प्रमुख नृपबहादुर वड पराजित हुनुभयो ।

जनकपुरधाम उपमनगरपालिकामा पनि स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित हुँदा सत्ता गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका निवर्तमान प्रमुख लालकिशोर साह पराजित हुनुभयो ।धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई विजयी हुँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले पराजय भोग्नुपर्‍यो ।

जबकी महानगर र उपमहानगरपालिकामा सत्तारुढ दलबीच चुनावी तालमेल थियो ।

यसबाहेक नगरपालिका, गाँउपालिका र वडाहरुमा पनि स्वतन्त्र उम्मेदवारहरु विजयी भएका छन् ।

बहुदलीय गणतान्त्रिक शासन व्यवस्थामा स्वतन्त्र उम्मेदवारी यही राजनीतिक प्रक्रियाभित्रकै एउटा अभ्यास हो। संविधान अनुसार कुनै पनि नागरिक चुनावी प्रक्रियामा सहभागी हुन पाउँछ। मतदान गर्न र उम्मेदवार बन्न हरेक नागरिकलाई अधिकार छ । तर बिना संगठन मैदानमा एक्लै होमिएर स्वतन्त्र उम्मेदवारले दलका आधिकारिक उम्मेदवारलाई पराजित गर्न सक्नुलाई भने दलहरुले आममतदाताको मनोविज्ञान बुझ्न नसक्नु वा बुझेर पनि वेवास्ता गर्नुको परिणामका रुपमा अर्थ्याउन थालिएको छ ।

जनमतको अर्थ स्पष्ट छ-यो दललाई होइन, उम्मेदवारलाई अस्वीकार गरिएको हो। यो कुनै व्यवस्थाप्रतिको बितृष्णा होइन, राजनीतिक दलहरुलाई खबरदारी भने हो । अझ दलका निर्णायक नेताहरुलाई ।दलबाट उम्मेदवार चयन गर्ने निर्णयकर्ताहरुले पनि अब बुझ्नुपर्छ- मतदाताले स्वतन्त्र उम्मेदवारलाई अभिव्यक्त गरेको मत दलहरूप्रतिको असन्तुष्टि होइन, उनीहरुको कामप्रतिको असन्तुष्टि हो ।दलहरु कमजोरभएको होइन, दलहरुलाई सुध्रिन दिइएको अवसर हो । आमबुझाइ पनि छ कि स्वतन्त्र उम्मेदवारहरूले पाएको जनमत दलहरूलाई सुध्रनको लागि दबाव हो । स्वतन्त्र उम्मेदवारहरूको जितले केन्द्रबाट हुने राजनीतिक हस्तक्षेपलाई पनि चुनौती दिएको छ ।आगामी चुनावमा उमेदवार छनौट गर्दा बिचार गर है भनेर दलहरुलाई दिइएको सन्देश पनि हो ।

निर्वाचनमा राम्रो उम्मेदवार छनौट गर्न, निर्वाचनअघिको प्रतिबध्दता निर्वाचनपछि कार्यान्वयन नगर्दाको परिणामबारे सचेत गराउन र मतदाताको सचेतता र सचेतना पुष्टि गर्न दिइएको सन्देशका रुपमा यसलाई बुझ्नुपर्दछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त हेटौडामा आफ्ना कार्यकर्तालाई धरानका नवनिर्वाचित मेयर जस्तो बन्न सुझाव नै दिनुभयो । स्थानीय निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको कंग्रेसले समेत यो कुरालाई नोटिसमा लिएको छ । कंग्रेस प्रवक्ताको भनाइमा पार्टीले यसलाई नजिबाट हेरेको छ र कहाँ कमजोरी भयो भनेर समीक्षा गर्नेछ । अन्य दलले पनि आआफ्नै दलगत कोणबाट यसबारे समीक्षा गर्लान नै ।

कुनै नारा वा अभियान लिएर होस् या परिवर्तनको एजेण्डा बोकेर मतदाताका मनमा रहेका उकुसमुकुस, असन्तुष्टि र छट्पटीलाई स्वतन्त्र उम्मेदवारहरुले बाचा वा प्रतिबध्दताका रुपमा सम्बोधन त गर्न सके । अब उनीहरुलाई आम नागरिकको प्रश्न छ- केउनीहरुले चुनावताका व्यक्त प्रतिबद्धताअनुसार काम गर्न सक्छन् ? यसको जवाफ बोलेर होइन गरेर दिन सक्नुपर्ने हुन्छ ।बालेन्द्र साहकै शब्दमा भन्दा अबको बाटो सहज छैन । वास्तविक परीक्षा अब सुरु हुनेछ ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 1 Minute 120 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।