२०८३ भाद्र २७ शनिबार
  • काठमाडौँ

थप दुई जनाको जिवितै उद्धार

काठमाडौँ, भदौ २१ गते । भोटेकोशी हिमबाढीको ११ औँ दिनमा सुरुङको अँध्यारोभित्र खोजी गर्र्दै रसुवाको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट करिब २२५ मिटर भित्र फसेका चिनियाँ नागरिक लुहाइतोलाई नेपाली सेनासहितको उद्धार टोलीले जीवितै उद्धार गर्न सफल भएको छ । उक्त सुरुङबाट दुई वटा शव पनि निकालिएको छ ।

त्यसै गरी नुवाकोटको विदुर नगरपालिका–१०, वेत्रावतीमा बाढीले क्षतिग्रस्त घरभित्र फसेकी ६४ वर्षीय चण्डिका श्रेष्ठलाई जीवितै उद्धार गरिएको छ । नेपाली सेना, विदेशी प्राविधिक तथा आयोजनाका प्रतिनिधिसहितको संयुक्त प्रयासपछि चिनियाँ नागरिकलाई  सुरुङबाट बाहिर निकालिएको हो । उद्धारपछि उहाँको स्वास्थ्य परीक्षण गरिएको नेपाली सेनाले जनाएको छ ।

यो उद्धारसँगै भोटेकोशी बाढीपछि त्रिशूली कोरिडोरका विभिन्न सुरुङमा फसेकाहरूको खोजीमा नयाँ आशा पलाएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङभित्रको खोज तथा उद्धारका क्रममा पानी, लेदो, माटो र चट्टान हटाई सुरुङभित्रको पहुँच खोल्न निरन्तर प्रयास भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरुङहरू अवरुद्ध भए पनि उद्धारकर्मीले खोजी जारी राखेका छन् । सम्भावित जीवित व्यक्तिको खोजीका लागि उपलब्ध उपकरण, प्राविधिक ज्ञान र जनशक्ति परिचालन गरिएको छ ।”

उहाँले माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा नेपाली सेनाका २० जनासहितको संयुक्त टोली अझै खोजीमा रहेको बताउनुभयो । त्यहाँ कम्प्रेसरलगायत उपकरणको प्रयोग गर्दै टोली सुरुङभित्र करिब २५० मिटरसम्म पुगेको छ । जमेको लेदो हटाउँदै सुरुङका थप भागमा प्रवेश गर्ने प्रयास भइरहेको छ ।  अर्कोतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले आनन्दलाल श्रेष्ठको चारतले घरको छतमा पुगी खोज तथा उद्धारका क्रममा घरभित्रबाट आवाज सुनेपछि खोजी अगाडि बढाएको थियो । प्रहरी निरीक्षक महेन्द्र दर्नालको कमान्डमा खटिएको टोलीले पर्खालमा सानो प्वाल बनाएर सोधखोज गर्दा भित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज सुनिएपछि उद्धार गरेको थियो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेले सुरक्षाकर्मीले पर्खाल फुटाएर चण्डिका श्रेष्ठलाई बाहिर निकालेको र स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा गरिएको उद्धारपछि उहाँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल, छाउनी ल्याइएको जानकारी दिनुभयो । उहाँ बोल्न सक्ने अवस्थामा रहेको जनाइएको छ ।

सुरुङभित्र निरन्तर खोजी

बाढीपछि त्रिशूली कोरिडोरका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, आयोजना प्रतिनिधि, विदेशी प्राविधिक तथा विज्ञसहितको संयुक्त टोली परिचालन गरिएको छ । त्रिशूली–३ ‘ए’ को सुरुङमा नेपाली सेनाका ७५, सशस्त्र प्रहरी बल नेपालका १८ तथा नेपाल प्रहरी र प्राविधिक विज्ञसहितको टोली परिचालित छ । यसअघि यही सुरुङबाट  सप्तरीका सञ्जय साह र कीर्तिपुरका कविन महर्जनको जीवितै उद्धार गरिएको थियो ।

उद्धारकै क्रममा उक्त सुरुङबाट एक जनाको शवसमेत निकालिएको थियो । सुरुङभित्र अझै व्यक्ति फसेको हुन सक्ने आशङ्कामा खोजी जारी राखिएको छ । त्यसै गरी त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ८९, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोली परिचालित गरिएको सेनाले जनाएको छ । सो स्थानमा बबक्याट र जेनेरेटरको प्रयोग गरी सुरुङभित्र जमेको माटो, लेदो तथा अन्य अवरोध हटाउने काम भइरहेको छ । चिलिमे हाइड्रोपावरको सुरुङमा विदेशी प्राविधिकसहितको टोलीले मिनी एक्साभेटर र मड पम्प प्रयोग गरिरहेको छ । लेदो हटाउँदै टोली सुरुङभित्र पुनः १०५ मिटरसम्म प्रवेश गरेको छ ।

सुरुङमा मात्र होइन, बाढीपहिरोबाट प्रभावित जिल्लाका बस्ती, सडक, नदी किनार र क्षतिग्रस्त संरचनामा समेत खोज तथा उद्धार अभियान व्यापक बनाइएको छ । मैलुङदेखि स्याफ्रुबेँसीसम्म पैदल गस्तीमार्फत समेत खोजी भइरहेको छ । त्रिशूली र धुन्चेमा स्थापना गरिएका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म तीन हजार २६६ जनाले स्वास्थ्यसेवा प्राप्त गरेका छन् ।

आकाशबाट उद्धार 

सडक सम्पर्कविच्छेद भएका तथा दुर्गम क्षेत्रमा हवाई उद्धारलाई पनि तीव्रता दिइएको छ । उद्धार र राहत सामग्रीको आवागमन सहज बनाउन नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले पुल निर्माण गरिरहेको छ । ५५ जनाको टोलीले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रोब्रिज निर्माणका लागि काम तीव्र पारेको सैनिक प्रवक्ता बस्नेतले जानकारी दिनुभयो ।

भोटेकोशी बाढीले पुर्‍याएको क्षति अकल्पनीय रहे पनि कतिपय क्षेत्रमा अझै जीवितै उद्धारको काम भने रोकिएको छैन । सडक अवरुद्ध छ, पुल बगेका छन् र बस्ती जोखिममा छन् । सुरुङभित्र पानी, लेदो र चट्टानले उद्धारकर्मीका लागि चुनौती थपेको छ तर अझै आशा मरेको भने छैन । अहिले पनि त्रिशूली कोरिडोरका सुरुङमा हरेक मिटर सम्भावित जीवनको खोजी जारी छ । नदीको बगरदेखि पुरिएका घरसम्म र अँध्यारो सुरुङदेखि पहिरोले थुनिएका सडकसम्म उद्धारकर्मीको एउटै ध्येय छ, सम्भावित जीवनलाई अन्तिम सम्भावनासम्म खोजी जारी राख्ने ।

२०८३ भाद्र २१, आईतवार प्रकाशित 0 Minutes 16 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार