काठमाडौं कार्तिक १३ गते । भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका हत्या हिंसा लुटपाटजस्ता आपराधिक क्रियाकलाप संलग्न व्यक्तिहरुलाई नेपाल प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले हालसम्म २ सय ५१ जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले पक्राउ परेकाहरुमा धेरै २० देखि २२ वर्ष उमेर समुहका व्यक्तिहरु रहेको जनाएको छ । जसमा काठमाडौँ जिल्लाबाट सबैभन्दा धेरै ९९ जना, ललितपुरबाट २६ जना, भक्तपुरबाट २१ जना, चितवनबाट १५ जना र बाँकी अन्य जिल्लामा भएका आन्दोलन र आपराधिक क्रियाकलापमा संगलग्न व्यक्ति पक्राउ परेको प्रहरीको भनाइ छ । पक्राउ परेका मध्ये हालसम्म ९३ जना विरुद्ध मुद्धा दर्ता भइसकेको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक विनोद घिमीरेले जानकारी दिनुभएको छ ।
प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका अधिकांश व्यक्तिहरूको पृष्ठभूमि आपराधिक रहेको र उनीहरु मध्ये धेरै कुनै न कुनै अपराधमा सजाय भोगिरहेका समेत खुलेको छ । पक्राउ परेकाहरूमाथि आपराधिक उपद्रव, कर्तव्य ज्यान, चोरी, आगजनी, अभद्र व्यवहार, हातहतियार खरखजाना, लागू औषध र संगठित अपराध लगायत अभियोगमा मुद्दा दायरा गरिएको नेपाल प्रहरीका प्रवक्ता घिमीरेले बताउनुभएको छ ।


प्रहरीले घटनाको अनुसन्धानका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ । घटनाका भिडियो फुटेज, सार्वजनिक रूपमा उपलब्ध प्रमाण र प्रहरीलाई सर्वसाधारणले इमेलमार्फत पठाएका प्रमाणका आधारमा अभियुक्तहरूको पहिचान गरिएको बताइएको छ । अनुसन्धानको क्रममा सुदूरपश्चिमको धनगढी पुगेर लुटिएका हतियारसहित मानिसहरूलाई पक्राउ गर्न सफल भएको पनि प्रहरीले जानकारी दिएको छ । शान्ति सुरक्षा र अमनचैनका लागि पनि आपराधिक गतिविधिमा संलग्न पक्राउ पर्नु जरुरी हुने बताउदै प्रहरीले अपराधमा संलग्न व्यक्तिलाई पद, पहुँच वा प्रभावका आधारमा छुट नदिइने दृढता व्यक्त गरेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।




