२०८३ जेष्ठ २१ बिहीबार
  • काठमाडौँ

नेपाल आइसीसी टि-२० विश्वकप खेल्न छनोट; एशिया छनोटमा अविजित रहदै उपाधि जित्न सफल

काठमाडौँ, असोज ३१ गते । नेपालले आइसीसी टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधि जितेको छ ।

ओमानमा शुक्रबार भएको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई एक सय २४ रनले हराउँदै उपाधि जितेको हो । सुपर सिक्सको दुई खेल अगावै विश्वकपमा स्थान बनाएको नेपाल समूह चरणदेखि अपराजित रहँदै उपाधि चुम्न सफल भयो ।

तेस्रो पटक टी–२० विश्वकपमा पुगेको नेपालले छनोट खेलको ट्रफी पहिलो पटक जितेको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो ।

सुपर सिक्सको शीर्षस्थानमा रहेको नेपाले १० अङ्क बनायो । दोस्रो स्थानमा रहेको ओमानले आठ तथा तेस्रो स्थानको संयुक्त अरव इमिरेट्स (युएई) ले ६ अङ्क जोड्यो । शीर्ष तीनमा रहेका नेपाल, ओमान र युएईले विश्वकपको यात्रा तय गरेका छन् ।

यस्तै सुपर सिक्समा चार अङ्क बनाएको कतार चौथो, दुई अङ्क बनाएको जापान पाँचौँ र अङ्कबिहीन सामोआ अन्तिममा रह्यो । छनोट खेलमा कूल नौ टोलीले भाग लिएका थिए ।

जितका लागि दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको सामोआ निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ८७ रनमा समेटियो ।

सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाउनुभयो । वेन्जामिन माइलाटाले ११ रन जोड्डा अन्य ब्याट्सम्यानले दोहारो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा नेपालका ललित राजवंशीले तीन विकेट लिनुभयो । यस्तै करण केसी, सन्दीप लामिछाने र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकटको क्षतिमा दुई सय ११ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आशिफ शेख र दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङ्स खेल्नुभयो । ६९ रन बनाउनुभएका आशिफले ४१ बलमा सात चौका र चार छक्का हान्नुभयो ।

यस्तै दीपेन्द्र सिंह ऐरीले ३३ बलमा दुई चौका र चार छक्काको सहयोगमा ५३ रन बनाउनुभयो । लोकेश बमले अविजित ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २१, कुशल भुर्तेलले १७ र आरिफ शेहले नौ रन बनाउनुभयो ।

बलिङमा सामोआका सौमानी ताई, डारियस भिसर, नोह मेड र डेनियस वर्गले एक एक विकेट लिनुभयो । यसअघि शुक्रबार नै भएको खेलमा ओमानले जापानलाई नौ विकेटले हराएको थियो ।

जितका लागि एक सय चार रनको लक्ष्य पछ्याएको ओमानले १७ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । पहिले ब्याटिङ गरेको जापानले १८.२ ओभरमा सबै विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो ।

नेपालसंगै घरेलु टोली ओमान र संयुक्त अरब इमिरेट्स युएई पनि यहि छनोट चरणबाट आगामी वर्ष भारत र श्रील्कामा संयुक्त रुपमा आयोजना हुने आइसीसी टि-२० विश्वकप क्रिकेट प्रतियोगिता खेल्नका लागि छनोट भएका छन् । यी दुबै टोली सहित कतार, कुवेत र जापानलाई हराउदै नेपाल अविजित रहेर विश्वकप खेल्न छनोट भएको हो ।

२०८२ आश्विन ३१, शुक्रबार प्रकाशित 1 Minute 244 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।