
काठमाडौं कार्तिक १६ । उत्तर कोरियाले युक्रेनमा विजय हाशिल नगरेसम्म रुसलाई आफ्नो देशको तर्फबाट सैन्य सहायता निरन्तर रहिरहने प्रष्ट पारेको छ । उत्तर कोरियाली सैनिकहरुलाई युक्रेनमा खटाउन रुसले तालिम दिइरहेको भन्ने समाचारहरु बाहिरिएसंगै बढेको चौतर्फी चासो र चिन्ताकाबीच उत्तर कोरियाका विदेशमन्त्रीले रुसको पक्षमा आफ्नो सैन्य उपस्थिति रहिरहने बताउनुभएको हो ।
हाल रुसको भ्रमणमा रहनु भएका उत्तर कोरियाली विदेशमन्त्री चो सोन हुईले रूसी समकक्षी सर्गेइ लाभ्रोभसँगको वार्तापछि मस्कोमा यस्तो घोषणा गर्नु भएको हो ।



अमेरिका र दक्षिण कोरियाले दश हजार उत्तर कोरियाली सैनिकहरू रूसमा प्रशिक्षण लिइरहेको र उनीहरु रूसको पक्षबाट युक्रेन विरुद्धको लडाँइमा सहभागी हुने बताउदै आएका छन् । वासिङ्टन र सियोलले उत्तर कोरियालाई आफ्नो सेना फिर्ता लिन चेतावनी पनि दिएका छन् ।
उत्तर कोरिया र रुसबीचको सैन्य साझेदारीको विषयलाई गम्भिरतापूर्वक नलिएको भन्दै युक्रेनका राष्ट्रपति भोलिदिमिर जेलनिस्कीले भने पश्चिमा मुलुकहरुको आलोचना गर्नुभएको छ । उहाँले यस विषयमा चीनको मौनता प्रति पनि प्रश्न गर्नुभएको छ ।
चीनले भने रुस र उत्तर कोरियाबीच बढ्दै गइरहेको सम्वन्ध दुई देशबीचको नितान्त आपसी विषय भएको प्रतिक्रिया दिएको छ ।
विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ताले दुबै सार्वभौम मुलुकहरु आफ्ना सम्वन्धलाई कुन रुपमा अघि बढाउने भन्ने विषयमा स्वतन्त्र रहेको प्रतिक्रिया दिनुभयो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।