२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

विपत्ति पछिको विडम्बना: जोखिम नै जोखिमकाबिच विपी राजमार्गमा दैनिक हजारौैंको यात्रा

काठमाडौं कार्तिक ३ । काभ्रेको चौकिडाँडाँबाटै सुरु हुन्छ अत्यास लाग्दो यात्रा । घामको ताप गाडीको चाप । कतै धुलो त कतै हिलो । माथिबाट सुख्खा पहिरो फुरफुर फुरफुर झरिरहेको छ । कञ्चन देखिनुपर्ने रोशी खोला भेल बनेर उर्लिरहेको छ । काखमा बच्चा ढाडमा झोला । दुई पाङ्ग्रे साधन कता खस्ने कता फस्ने । ट्राफिक जाम उस्तै । चोकिडाँडाँदेखि नेपालथोक सम्म करिब २५ किलोमिटरको सडक यात्राका क्रममा देखिने दृष्यहरु हुन् यि । विशेषगरी चौकीडाँडा छेऊको सडकको विकल्पमा खोलाको बगर भएर फेरि मूल सडक निस्कन ठूलै सकस पर्ने गरेको छ ।

रोशी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा अहिले बीपी राजमार्ग कामचलाउ मात्रै बन्न पुगेको छ । सडक यसरि क्षतविक्षत भएको छ कि अहिले यहाँ यात्रा गर्नु भनेको ठूलो चुनौतिको सामना गर्नु हो । त्यसमाथि त्यो सुन्दर र मनमोहक नागबेली विपि राजमार्ग भएर यात्रा गरेकाहरुको मन भक्कानिन्छ एकपटक यो सडकको हालत देखेर । कतै बाढीले सडक बगाएर नामोनिसान छैन । कतै सडक पुरै भासिएको छ । कतै सडक चर्किएका छन् । टेवा पर्खाल भत्किएका छन् ।

अवरुद्ध सडक खोल्न अनेक उपाय अपनाइएको छ । बाढीले सडक बगेका अधिकांश ठाउँमा बगर भएर ट्याक निकालिएको छ । रोशी खोलाको पानी छेकेर बगरमा सडक निकालिएको हो । यद्यपि कामचलाउ अवस्थाको सडक भएकाले यात्रा सहज छैन । ट्राफिक व्यवस्थापनमा खटिएको प्रहरीले अस्थायीरुपमा सडक सञ्चानमा आएपनि जोखिम कायमै रहेको बताएको छ । अत्यावश्यक काम नपरी यो सडक भएर यात्रा नगर्न प्रहरीले अनुरोध नै गरेको छ ।

सडक डिभिजन कार्यालयले भने दिनप्रतिदिन सडकको स्तर राम्रो हुँदै गएकाले जोखिम पनि कम हुँदै गएको बताएको छ । सडक सञ्चालनमा ल्याउने बेला माम्ती खोलाको अवस्था यस्तो थियो । तर फेरि स्तरोन्ति गरेपछि यस्तो अवस्था छ अर्थात् केही सहज भएको छ । यस्तै भ्याकुरे खोलामा लाग्ने जाम पनि कम हुँदै गएको छ ।

काभ्रेको चौकिडाँडादेखि सिन्धुलीको सीमाना वर्षे खोलासम्मको करिब २५ किलोमीटर मध्य ८ किलोमिटर सडक पूरै बगेको छ । रोशी सहित अरु स–साना खोलाको पानीले राम्रो भनिएको सडकमा पनि सवारी सञ्चालनमा समस्या आइरहेको छ । सवारी चाप धेरै, धेरैजसो स्थानमा एकतर्फी ट्र्याक र कम जनशक्ति हुँदा प्रहरीलाई पनि ट्राफिक य्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ ।

चाडपर्वको समयमा राजमार्ग सुरु गर्न हतार हतारमा ट्रयाक खोलिएकाले खोला राम्रोसँग छेकिएको छैन । यस्तै परिवेश र परस्थितिमा जोखिमै जोखिम मोलेर दैनिक हजारौैं नागरिक र सवारी साधन  विपी राजमार्गको यात्रा गरिरहेका छन् ।

२०८१ कार्तिक ३, शनिबार प्रकाशित 0 Minutes 77 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।