२०८२ असार २५ बुधबार
  • काठमाडौँ

बाढी पहिरोले सिङ्गो मुलुक प्रभावित

काठमाडौं असोज १२ । भीषण वर्षापछि आएको बाढी पहिरोले सिङ्गो मुलुक प्रभावित भएको छ । मानवीयसँगै ठूलो भौतिक क्षति पनि भएको छ । अविरल वर्षाका कारण सिर्जित विपत्तिले विनाश निम्त्याएको छ । विपद्ले निम्त्याएको सङ्कटले छटपटी सृजना गरेको छ । क्षतिको एकिन विवरण आइनसकेपनि धेरै भौतिक संरचनाहरु क्षतिग्रस्त भएका छन् । दशैको मुखमा धेरै राजमार्गहरु अवरुद्ध भएका छन् । पुलहरु भत्किएका छन् । दशै लक्षित अग्रिम टिकट बुकिङ् खुला भएकै दिन घर जाने सडकहरु बाढी पहिरोले क्षेतविक्षत भएका छन् । पहिरोका कारण आवागमन प्रभावित भएको छ । मध्य असोजमा आएको बाढीपहिरोले आसन्न चाडपर्वहरुको रौनक नै हराएको छ । पहिरोले राजमार्ग अवरुद्ध हुँदा सार्वजनिक यातायात सेवा प्रभावित बनेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौँको नयाँ बसपार्क र अन्य क्षेत्रबाट लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन हुन नसकेको बताउनुभयो । स्थानीय प्रशासनले वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको हो । प्रशासकीय अधिकृत अन्तिम सिञ्जालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको हो । अविरल वर्षापछि आएको बाढीपहिरो तथा डुबानका कारण देशभर २३ सडकका ६३ स्थानमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ । सडक विभागले सङ्कलन गरेको प्रारम्भिक विवरणअनुसार बाढीपहिरोका कारण हिमाली तथा पहाडी क्षेत्रका अधिकांश सडकखण्डमा यातायात आवागमन प्रभावित भएका छन् । प्रारम्भिक विवरणअनुसार २३ बाटोका ६३ स्थानमा अवरुद्ध भएका छन्भने काठमाडौँ उपत्यका प्रवेश गर्ने सबै नाका बन्द भएको विभागको सम्भार महाशाखा प्रमुख अर्जुन अर्यालले जानकारी दिनुभयो । कुलेखानी जलविद्युत् आयोजनको जलाशय खोलिएकाले कान्ति लोकपथमा बागमती पुल उच्च जोखिममा परेको अर्यालले बताउनुभयो । बिपी राजमार्गमा नेपालथोक भन्दा केही अगाडि रोशी खोलामा आएको बाढीले एक सय मिटर जति बाटो बगाएको छ । अहिले काठमाडौँ उपत्यका छिर्ने सबै बाटो बन्द अवस्थामा रहेको अर्यालले जानकारी दिनुभयो । धेरै नदीमा पानीको सतह निरन्तर बढिरहेकाले अधिकांश पुल जोखिमको अवस्थामा रहेका छन् । सडक विभागका अनुसार त्रिभुवन राजपथ पूर्ण अवरुद्ध छ ।

सिर्सिया–पथलैया–हेटौँडा–भैँसे–पालुङ–नौबिसे–काठमाडौँ खण्डमा पनि पहिरोका कारण राजमार्ग बन्द भएको हो । त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गतको नौबिसे–मुग्लिन–पोखरा राजमार्ग अवरुद्ध छ । धादिङको कमेरे भन्ने स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । अरनिको राजमार्गअन्तर्गत काठमाडौँ–धुलीखेल–दोलालघाट–खाडीचौर–कोदारी राजमार्ग पनि अवरुद्ध भएको छ । त्यसैगरी, कालीगण्डकी करिडोरअन्तर्गत तानसेन–रिडी–कोरला सडकमा पर्वतको केराबारी भन्ने स्थानमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

राप्ती राजमार्गअन्तर्गत अमेलिया–शीतलपाटी–थारमारे मुसिकोट खण्डअन्तर्गत सल्यानको राम्री भन्ने स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गअन्तर्गतको बेलहिया–भैरहवा–बुटवल–वर्तुङ–राम्दी–स्याङ्जा–पोखरा सडक अवरुद्ध छ । पुष्पलाल (मध्यपहाडि राजमार्ग) अन्तर्गत ओखलढुङ्गाको भडारे क्षेत्रमा पहिरो जाँदा सवारी साधन सञ्चालनमा अवरोध सिर्जना भएको छ भने भेडेटार–रबि–राँके सडकअन्तर्गत पाँचथर जिल्लामा सडक अवरुद्ध छ ।

मुलुकभर जारी बर्षाका कारण सडकहरु अवरुद्ध रहेकाले अत्यावश्यक नपरी लामो दूरीको यात्रा नगर्न गृह मन्त्रालयले आग्रह गरेको छ । अविरल बर्षापछि त्रिशूली नदीमा आएको भीषण बाढीले ठेउवाटारस्थित झोलुङ्गे पुल बगाएको छ भने अन्य तीन झोलुङ्गे पुल बाढीको उच्च जोखिममा परेका छन् । गोरखा र धादिङ्ग तथा गोरखा–चितवन जोड्ने त्रिशूली नदी माथिका विभिन्न ठाउँमा रहेका झोलुङ्गे पुलमा बाढीले क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । हेवा खोलामा आएको बाढीले मेची राजमार्ग अन्तर्गतको ‘बेलिब्रिज’ बगाएको छ । अविरल वर्षाले विद्युत् आपूर्ति प्रणालीमा अवरोध हुँदा काठमाडौँसहित मुलुकका अधिकांश स्थानमा विद्युत् काटिएको छ । वर्षाले विद्युत् प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा क्षति पुर्‍याउँदा आपूर्ति प्रभावित भएको हो ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार काठमाडौं उपत्यकाको आधा क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ । धेरै ठाउँ जलमग्न भएका तथा नदीहरुमा जलसतह बढेकाले लाइन सञ्चालनमा असहज भएको हो । साथै देशका अन्य स्थानमा पनि बिजुली आपूर्तिमा कठिनाइ उत्पन्न भएको प्राधिकरणले जनाएको छ । अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको लामाबगरस्थित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स)मा क्षति पु¥याएको छ । माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेदेखि विद्युत् उत्पादन बन्द गरिएको छ ।

बाँधका सम्पूर्ण ढोका (गेट)हरु खुल्ला गरिएको छ । नियन्त्रण कक्ष, डिस्याण्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण ती संरचनामा ठूलो क्षति पुगेको अनुमान गरिएको छ । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ । बहाव उच्च भएपछि व्यारेजका ५६ वटै ढोका खोलिएको छ ।

पानीको सतह बढेपछि नवलपरासीस्थित नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठका अनुसार त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ ढोका खोलिएको हो । नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा करिब चार लाख क्युसेक पानीको बहाव रहेको छ ।

२०८१ आश्विन १२, शनिबार प्रकाशित 0 Minutes 80 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।