२०८२ जेष्ठ ५ आईतवार
  • काठमाडौँ

वेपत्ता भएका बस खोज्न प्रयोग गरिएको चुम्बक पानीभित्रै हरायो

काठमाडौं, साउन ११ गते । चितवनको सिमलताल पहिरोले बगाएर त्रिशुली नदीमा वेपत्ता भएका बस खोज्न प्रयोग गरिएको चुम्बक पानीभित्र हराएको छ । भारतबाट ल्याइएका दुइवटा चुम्बकमध्ये एउटा चुम्बक हराएको छ ।

भारतीय उद्दार टोलीले शुक्रबार साँझ भारतबाटै मगाएको १९ किलोग्राम र १४ किलोग्रामका दुइवटा चुम्बकमध्ये १९ किलोको चुम्बक हराएको हो । पानीभित्र बस खोज्नेक्रममा चुम्बक हराएको उद्दार टोलीका सदस्यहरुले जानकारी दिएका छन ।

दुर्घटनास्थल सिमलतालबाट त्रिशुली नदीभित्र हालिएको चुम्बक घटनास्थलबाट करिब डेढ किलोमिटर तलसम्म नहराएको र त्यसपछि हराएको हो । हिमाल चढ्दा प्रयोग गरिने डोरीमा चुम्बक झुण्डाएर पानीभित्र बस खोज्न खसाल्ने गरिएको छ । डोरीमा झुण्डाएर पानी भित्र खसालिने चुम्बक त्यसको तौल र पानीको बहाबको आधारमा कति तल सम्म पुग्छ भन्ने कुरा निर्धारण हुने उद्दार टोलीका सदस्यहरुले जानकारी दिएका छन ।

शुक्रबार नेपाल आइपुगेका चुम्बकहरु शनिबार प्रयोग गर्दा एउटा हराएको र साँझ परेपछि अर्कोको पनि प्रयोग गर्न छाडिएको छ । रात परेपछि भारतीय टोलीले शनिबारका लागि उद्दारकार्य स्थगित गरेको छ ।

भारतीय उद्दार टोलीले नेपाली टोलीसँगको सहकार्यमा एकहप्तादेखि बस खोजिरहेको भएपनि हालसम्म भेट्टाउन सकेको छैन । शुरुमा एक हप्ताको कार्यक्रम बनाएर नेपाल आएको भारतीय टोली नेपाल आएको शनिबार एक हप्ता पुगेको छ ।

आइतबारदेखि भारतीय टोली थप समय नेपाल बस्छ कि बस्दैन भन्ने कुराको टुंगो लाग्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । असार २८ गते बिहान वीरगन्जबाट काठमाडौं जाँदै गरेको एन्जल डिलक्स र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सका गरी दुइवटा बस त्रिशूली नदीमा खसेका थिए ।

बसहरुमा ६५ जना सवार रहेकामा ३ जना सकुशल रहेका, २४ जनाको शव फेला परेको तीमध्ये १९ जनाको मात्र सनाखत भएको प्रहरीले जनाएको छ ।

२०८१ श्रावण १२, शनिबार प्रकाशित 0 Minutes 71 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।