२०८३ कार्तिक ११ मंगलवार
  • काठमाडौँ

एमाले भर्सेज दुर्गा प्रसाईँको कार्यक्रमले माइतीघर क्षेत्र निषेधित बन्यो; ५ जनाभन्दा बढी भेला हुन नपाउने

काठमाडौं मंसिर ४ । प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजतन्त्रको वकालत गरिरहेका दुर्गा प्रसाइले बेग्लाबेग्लै तर एकै मिति र समयमा एउटै स्थानमा कार्यक्रम गर्ने घोषणा सहित तयारी अघी बढाए पछि सरकारले कार्यक्रम आयोजना स्थल भनिएको काठमाडौंको माइतीघर मण्डला क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौले माइतीघर मण्डलादेखी बानेश्वरसम्म एक महिनासम्मका लागि निषेधित क्षेत्र तोकेको हो । प्रशासन कार्यालयले पद्य्मोदय मोडबाट सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलाबाट बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न प्रशासनले निषेधात्मक आदेश जारी गरेको छ ।

एक वा सोभन्दा बढी समूहद्धारा एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवम् भिडन्त भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने कारणले माइतीघर मण्डलाबाट बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले बताउनुभयो ।

आन्दोलन वा विरोधका कार्यक्रम गर्दा सो क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारवाही, सार्वजनिक सम्पत्ति संरक्षण एवम् सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्न सक्ने र एम्वुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्था समेत भएकोले प्रशासनले निषेधित क्षेत्र तोकेको प्रजिअ बस्नेतले जानकारी दिनुभयो ।

२०८० मंसिर ४, सोमबार प्रकाशित 0 Minutes 388 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।