२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

महानवमी पर्व नवदुर्गा मध्येकी सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाइयो

काठमाडौं कार्तिक ६ । आश्विन शुक्ल नवमीका दिन आज महानवमी पर्व नवदुर्गा मध्येकी सिद्धिदात्री देवीको पूजा आराधना गरी मनाइँदै छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजा आराधना गरी शक्तिपीठहरुमा पशु बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गरिएको छ ।

पशुबलि नदिनेहरुले कुभिण्डो, घिरौँला, मुला, काँक्रो र जटा नरिवलको बलि दिने प्रचलन छ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाउने गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ । आज पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइचो लागेको छ ।

दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ । महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ ।

यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ । आजै कलपूर्जा हातहतियार औजार र सवारी साधनहरुको पनि पूजा आराधना गरिएको छ ।

२०८० कार्तिक ६, सोमबार प्रकाशित 0 Minutes 99 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।