२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

एनआरएन मतगणनामा भाँडभैलो; सेटिङमा अध्यक्ष छानिएको भन्दै साइवर सेलमा उजुरी

काठमाडौं कार्तिक ३ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को अध्यक्षमा बद्री केसी निर्वाचित भए लगत्तै उत्पन्न भएको विवाद समाधान भएको छैन । अध्यक्षमा केसी निर्वाचित भएको परिणाम आज विहान घोषणा भएपछि उहाँका प्रतिस्पर्धीद्वय महेश श्रेष्ठ र आर के शर्माले धाँधली भएको भन्दै उक्त मतपरिणामलाई अस्वीकार गर्नुभएको छ ।

उहाँहरुले आज विज्ञप्ति प्रकाशन गरी अध्यक्ष पदको परिणाम स्वीकार गर्न नसकिने बताउनुभएको हो ।

“प्रविधिको प्रयोग गरी एनआरएनएको इतिहासमै पहिलो पटक गराइएको निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुने हामीले अपेक्षा गरेका थियौँ, तर पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन”, अध्यक्षका प्रत्यासी श्रेष्ठ र शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

अध्यक्षमा निर्वाचित केसीले एक हजार तीन सय ७८ मत प्राप्त गर्नुभएको छ । साथै अध्यक्षका प्रत्यासी आर के शर्माले एक हजार दुई सय ८१ र महेश श्रेष्ठले एक हजार दुई सय २५ मत प्राप्त गर्नुभएको घोषणा निर्वाचन समितिले गरेको थियो ।

सङ्घको उपाध्यक्षमा राज रेग्मी, विनोद श्रेष्ठ, हेमराज शर्मा, रोविन शेरचन, रामशरण सिंखडा, खगेन्द्र न्यौपाने निर्वाचित हुनुभएको छ भने महासचिवमा गौरीराज जोशी, उपमहासचिवमा सोम सापकोटा र प्रवीण गुरुङ निर्वाचित हुनुभएको छ ।

उपाध्यक्ष पदका उम्मेदवार डा केशव पौडेलको मत शून्य देखाइएको भन्दै नतिजा अस्वीकार गरिएको हो । आफूस्वयं मतदाता रहेको नेपाल तर्फको भोटिङमा समेत शून्य मत आए पछि पौडेलले आपत्ति जनाउनु भएको थियो । अष्ट्रेलियामा रहेको कम्पनी भेरोको अनलाइन प्रणाली ह्याक गरी धाँधली गरेको अध्यक्षका दुई प्रत्यासीको आरोप छ ।

उनीहरुले छानवीनको माग गर्दै नेपाल प्रहरीको साइवर सेलमा उजुरी पनि दर्ता गराएका छन् । विवाद बढेपछि सम्मेलनको समापनमा प्रमुख अतिथीको रुपमा जान लाग्नु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि जानुभएन ।

२०८० कार्तिक ३, शुक्रबार प्रकाशित 0 Minutes 102 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।