
काठमाडौं, असोज २९ गते । नेपाली कांग्रेसका नेता तथा परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहद्वारा मारिएका पाँचजना नेपालीको शवको प्रमाणीकरणको काम सुरु भएको र सकिने बित्तिकै नेपाल ल्याइने बताउनु भएको छ ।
सुदूरपश्चिम पत्रकार समाजद्वारा आज सोमबार यहाँ आयोजित दसैँ, तिहार, छठ तथा नेपाल सवतकाे अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । इजरायल घटनामा सबैभन्दा बढी क्षति सुदूरपश्चिमलाई भएको चर्चा गर्नुहुँदै नेपालीको उद्धार तथा अन्य काममा सहयोग गर्ने सबैप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।



हमास समूहले बन्धक बनाइ बेपत्ता पारेको भनिएको विपिन जोशीको पहिचानका लागि सरकारको तर्फबाट सबै पहल भएको र अन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्घ संस्थालाई समेत त्यसका लागि आग्रह गरिएको उहाँले प्रष्ट पार्नुभयो । त्यहाँ रहेका नेपाली विद्यार्थी सरकारको सम्पर्कमा रहेको र थप विद्यार्थी पनि अनलाइनमार्फत सम्पर्कमा आइरहेकाले आवश्यक परेमा जतिसुकैबेला नेपाल ल्याउन सरकार तयार रहेको उहाँले बताउनुभयो ।
सो अवसरमा मन्त्री साउदले सुदूरपश्चिम प्रदेश विकासको दृष्टिकोणले अझै पछाडि रहेको चर्चा गर्नुहुँदै सबैको सामूहिक प्रयास र पहलले त्यहाँको विकास हुने बताउनुभयो । सुदूरपश्चिम प्रदेश रिसोर्सको हिसाबले सबैभन्दा धनी भए पनि त्यसको सही सदुपयोग गर्न नसकिएको उहाँले चर्चा गर्नुभयो । विकासको काम क्रमिक रूपमा भइरहेकाले त्यहाँका राजनीतिक दल, सुदूरपश्चिमवासी, पत्रकार, तीनै तहका सरकारको सामूहिक पहलले सुदूरपश्चिम समृद्ध बनाउन सकिने उहाँले बताउनुभयो ।
काठमाडौँलाई केन्द्र मान्दा सुदूरपश्चिम सबैभन्दा दुर्गम भए पनि देशको हिसाबले सुदूरपश्चिम टाढा नरहेको उहाँले चर्चा गर्नुभयो । त्यहाँको समग्र विकासका लागि धार्मिक पर्यटकीय क्षेत्रको यथोचित विकास गर्न सके वर्षमा दसौँ लाख धार्मिक पर्यटक सुदूरपश्चिममा भित्र्याउन सकिने उहाँले बताउनुभयो ।
इजरायलमा गत शनिवार हमास समूहले आक्रमण गरेपछि शुरु भएको युद्धमा परेर १० जना नेपालीको मृत्यु भएको छ । उक्त आक्रमण पछि हराइरहेका एक जना नेपालीकोबारेमा अझै पत्तो लागेको छैन् । २५४ जना नेपालीलाई भने सरकारले उद्दार गरेर स्वदेश फर्काइसकेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।