२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

इजरायलमा निधन भएकाको शव नेपाल ल्याउन सरकारकाे पहल

 

काठमाडौँ, असोज २२- सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ ।

साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

इजरायलबाट स्वदेश फर्कन इच्छुक नेपाली नागरिकको विवरण सङ्कलनको लागि परराष्ट्र मन्त्रालय, तेल अभिभस्थित नेपाली राजदूतावास र इजरायल सरकारको समन्वयमा अनलाइन रजिष्ट्रेसनको तयारी भइरहेको छ । हाल तेल अभिभस्थित विमानस्थल सामान्यरुपमा सञ्चालनमा रहेको र हवाईमार्गमार्फत आवतजावत सुचारू भइरहेको जानकारीसमेत प्राप्त भएको मन्त्रालयको भनाइ छ ।

इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकको निर्देशनअनुसार परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा एक समन्वय संयन्त्रको गठन भएको गरिएको छ । उक्त संयन्त्रले इजरायलमा रहेका नेपाली नागरिकको संरक्षण र उद्धार गर्न आवश्यक पहल गरिरहेको छ ।

यस सम्बन्धमा परराष्ट्र मन्त्रालयले तेल अभिभस्थित नेपाली राजदूतावासलाई आवश्यक निर्देशन दिनुका साथै निकायगत समन्वय पनि गरिरहेको छ । द्वन्द्वग्रस्त क्षेत्रबाट नेपालीको यथाशीघ्र उद्धार गर्न नेपाल सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको मन्त्रालयले जनाएको छ । इजरायलमा विकसित पछिल्लो घटनाक्रमका सम्बन्धमा तेल अभिभस्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयका अधिकारीको सम्पर्क विवरण उपलब्ध गराइएकाले उहाँहरूमार्फत आवश्यक जानकारी लिन र सम्पर्कमा रहनुहुन अनुरोध गरिएको छ ।

यस कठिन परिस्थितिमा इजरायलमा रहेका सम्पूर्ण नेपालीलाई सजगता अपनाउन र नेपाली राजदूतावाससँग सम्पर्कमा रहन मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

इजरायलमा भएका नेपालीहरुको अवस्थाप्रति राष्ट्रपतिको चिन्ता

राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपालीहरुको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ता र मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गर्नुभएको हो ।

उहाँले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धान्जली व्यक्त गर्दै उनीहरूको परिवारप्रति सहानुभूति प्रकट गर्नुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।

त्यसैगरी राष्ट्रपति पौडेलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

राष्ट्रपति पौडेलले सुरक्षित स्थानमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम तत्काल अगाडि बढाउन पनि आग्रह गर्नुभएको प्रेस सल्लाहकार पोखरेलले जानकारी दिनुभयो ।

२०८० आश्विन २२, सोमबार प्रकाशित 1 Minute 90 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।