२०८२ जेष्ठ ६ सोमबार
  • काठमाडौँ

नक्कली भूटानी प्रकरणमा बयान सुरू

काठमाडौं जेठ १२ । काठमाडौँ जिल्ला अदालतमा नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तमाथि बयान सुरु भएको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि बयान सुरू भएको हो । बयानका क्रममा आज केशव दुलाल र सागर राईको बयान लिइएको छ । अरू आरोपितको बयान क्रमशः हुँदै जानेछ । अब आइतबार पनि बयान जारी रहनेछ ।

नेपाली नागरिकलाई नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै भएको ठगी प्रकरणमा पक्राउ परेका दुलाल यो ठगी प्रकरणका मुख्य बिचौलिया रहेको पाइएको छ । पूर्ववडाध्यक्षसमेत रहेका राई पनि यो ठगी प्रकरणमा बिचौलिया रहेको खुलेपछि पक्राउ गरिएको थियो ।

उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दर्ता गरेको थियोे । तीमध्ये मुद्दा दर्ता गर्दासम्म १६ प्रकाउ परेका थिए । आज एकजना फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेका छन् । महर्जनसहित १६ जना अभियुक्त प्रकाउ भएका छन् । अझै १३ जना अभियुक्त फरार छन । फरार अभियुक्तविरूद्द पनि अदालतमा मुद्दा दर्ता गरिएको छ ।

अदालतमा उक्त प्रकरणका अभियुक्तको बयानपछि थुनछेक बहस हुनेछ । अभियुक्त थुनछेक बहसपछि धरौटीमा थुनामुक्त हुने वा थुनामा पठाउने निर्णय अदालतले गर्नेछ ।

यसैबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले आज थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जन रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महर्जनको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकी महर्जनलाई प्रहरीले आजै जिल्ला अदालतमा उपस्थित गराइ हिरासतमा राखिएको जनाएको छ ।

लक्ष्मीसँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १७ पुगेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

२०८० जेष्ठ १२, शुक्रबार प्रकाशित 0 Minutes 76 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।