
काठमाडौं जेठ ८ । शरणार्थी प्रकरणमा अनुसन्धानका लागि पाएको समयावधिको ५८ औं दिन अर्र्थात करिव दुई महिनामा प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो । सोमबारसम्ममा प्रहरीले संकलन गरी अनुसन्धान गरेको मुद्धाको सम्पूर्ण फाइल प्राप्त भएको प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणी नेउपानेले जानकारी दिनुभयो ।
यससंगै अव अनुसन्धानमा देखिएको एथेष्ट प्रमाणलाई आधार मानेर दुईदिन भित्र अर्थात जेष्ठ १० भित्रमा नै दोषी उपर अदालतमा मुद्धा दायर गर्नेगरी तीव्र रुपमा विशेष समिति मार्फत कार्य प्रारम्भ थालिएको उहाँले जानकारी दिनुभयो ।



प्रहरीले संगठित अपराध, ठगी र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन सक्नेगरी कुल २७ करोड ४२ लाखभन्दा बढीको बिगो दाबी सहित प्रतिवेदन बुझाएको छ । हिरासतमा रहेका १६ जना र प्रहरीको फरार सूचीमा रहेका थप १६ जनागरी ३२ जनालाई प्रतिवादी बनाएर तयार पारिएको मिसिल प्रहरीले बुझाएको हो । आइतबार पूर्व सभासद आङ्टावा शेर्पा विरुद्ध छ जनाले जाहेरी दिएसंगै शरणार्थी प्रकरणमा पिडितको संख्या एक सय १२ जना पुगेको प्रहरी प्रवक्ता सिताराम रिजालले जानकारी दिनुभयो ।
यो घटनामा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका सांसद एवं पूर्व मन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय नरेन्द्र केसी पक्राउ परिसकेका छन् । यसैगरी टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित गिरोहका सदस्यहरु केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले हिरासतमा राखेर अझै अनुसन्धान जारी राखेको छ ।
यो प्रकरणमा आरोपित पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा नीरज राईसहित १६ जना फरार रहेको प्रहरीले जनाएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।